मन्त्रीहरूलाई भ्याइ नभ्याइ, राज्यमन्त्रीहरूले पाएनन् काम



जनकपुरधाम : प्रदेश २ सरकारका राज्यमन्त्रीहरुले जिम्मेवारी अभावमा मन्त्रालयमै बसेर दिन काट्नुपर्ने अवस्था आएको गुनासो गरेका छन्। पटक पटक कर्मचारी अभावका कारण काम गर्न नपाएको बताउँदै आएका राज्यमन्त्रीहरुले अहिले आफैंले काम पाएका छैनन्।

कर्मचारीले नभएर काम गर्न नपाएको आरोप लगाएका राज्यमन्त्रीहरु जिम्मेवारीविहीन छन्। अहिले उनीहरुको काम भनेको कार्यकर्ता भेट्ने र फेसबुक चलाउने बनेको छ।

प्रदेश २ सरकारको नेतृत्व फोरमले गरेको छ। मन्त्रिमण्डलममा पनि फोरमकै वर्चश्व छ। तर, राजपा राज्यमन्त्रीले भने स्पष्ट जिम्मेवारी पाउन सकेका छैनन्। मन्त्रालयले गर्ने कुनै कार्यक्रम भए त्यसमा सहभागी हुने नभए कार्यालय आवासमै दिन बिताउने उनीहरुको सेड्युल नै बनेको छ।

गत फागुन ११ गतेदेखि जनकपुरधाममा राजपा केन्द्रीय समितिको प्रादेशिक बैठकमा राज्यमन्त्रीहरुले जिम्मेवारी नपाएको भन्दै पार्टीमा गुनासो पोखेका थिए। पार्टीका नेता कार्यकर्ता, आफ्नो क्षेत्रका जनता काम लिएर आउने तर आफूहरुले जिम्मेवारी नपाएका कारण जनताको काम गर्न नसकेको उनीहरुको दुखेसो थियो। साथै उनीहरुले काम नपाएर सरकारमा बस्नुको औचित्य के भनेर पनि प्रश्न उठाएका थिए।

प्रदेश २ सरकारमा राजपाबाट तीन मन्त्री र तीन राज्यमन्त्री गरी ६ जना सहभागी छन्। फोरमबाट राज्यमन्त्री भएकाहरुको एक वर्ष र राजपाबाट राज्यमन्त्री बनेकाको ८ महिना बितिसकेको छ। तर उनीहरुले खास जिम्मेवारी अहिलेसम्म पाउन सकेका छैनन्।

राज्यमन्त्रीहरुले मन्त्रालयमा काम नपाए आफूहरुलाई फिर्ता बोलाए हुन्छ भन्ने खालको अभिव्यक्ति पार्टीलाई दिइरहेका छन्। दुई दिनअघि राजपाले आफ्ना नेता तथा राज्यमन्त्रीहरुलाई कामको जिम्मेवारी दिन सरकारसमक्ष अनुरोध पनि गरेको थियो। र, पनि उनीहरुले कामको जिम्मेवारी पाएका छैनन्।

 

कामबिनाको जिम्मेवारी

फोरमका एक राज्यमन्त्रीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘मन्त्रीहरु एकलौटी रुपमा चलिरहेका छन्, कुनै योजना, कानुन निर्माण वा मन्त्रालयको विषयवस्तुमा छलफल वा सल्लाह सुझाव लिनु त कुरै छाडौं, सोधपुछ पनि गर्दैनन्, सम्पूर्ण काम मन्त्रीहरुले नै गर्छन्, हाम्रो काम भनेको मन्त्री नभाको बेला ज्ञापन बुझ्ने मात्र भएको छ।

राजपाका उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले पनि जिम्मेवारी नपाएको गुनासो गरे। भने, ‘के गर्ने भनेर जिम्मेवारी नै दिइएको छैन, कार्यालयमा बसेर पार्टीका नेता कार्यकर्ता र समर्थकहरुसँग भेट्यो, उनीहरुलाई चिया खुवायो, यत्तिभन्दा काम भएको छैन।’

प्रदेश सरकार कार्य विभाजन नियमावलीमा स्वतन्त्र रुपमा राज्यमन्त्रीले कार्यालयको कार्य सम्हाल्ने भनिएको छ। तर अधिकारिक रुपमा जम्मेवारी कुनै पनि मन्त्रीले आफ्ना राज्यमन्त्रीलाई दिएका छैनन्। उनीहरु कहिलेकाहीँ मन्त्री नभएका बेला मात्र कार्यक्रममा प्रमुख अतिथि बन्ने मौका पाउँछन्। तर दनेपालटपसँग कुराकानीमा भने आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले ती कुरा अस्वीकार गर्दै आफ्ना राज्यमन्त्रीलाई सूचना सञ्चार र कारागार निरीक्षणलगायत कामको जिम्मेवारी लिखित रूपमै दिएको बताए।

तर राज्यमन्त्री सरोज सिंह कुशवाहाले भने, ‘जिम्मेवारी के दिनु, सबै काम मन्त्रीजी आफैंले गर्नुहुन्छ। सामान्य रूपमा सञ्चार हेर्ने र कारागार निरीक्षण गर्ने जिम्मेवारी मात्र अहिलेसम्म पाएका छौं।’ त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्री उषा यादवले भनिन्, ‘आफूलाई कृषिको फाइल हेरेर सदर गर्ने, अनुगमन तथा मूल्यांकन र ५० लाखसम्म रकम निकासा गर्न सक्ने अधिकारसहितको जिम्मेवारी दिइएको छ।’ मन्त्रीहरुलाई काममा भ्याइ नभ्याइ हुँदा राज्यमन्त्रीहरु भने गफै गरेर दिन बिताइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्