फ्रान्सेली लिग : पीएसजीकाे सहज जित, पेनाल्टीमा चुक्याे एमबाप्पे



एजेन्सी : फ्रान्सेली लिग अन्तर्गत आइबार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ । पीएसजीको घरेलु मैदानमा भएको खेलमा पीएसजीले मार्सेलाई ३-१ गाेल अन्तरले पराजित गरेको हो ।

पीएसजीलाई सहज जित दिलाउनका लागि एन्जल डी मारियाले दुई गरे भने किलियन एमबाप्पेले एक गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा एमबाप्पेले गोल गर्दै पीएजीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलले पछि परेको मार्सेले दोस्रो हाफको पहिलो मिनेटमै खेल बाराबरीमा ल्यायो । मार्सेकाे लागि भालेर जर्मनले गोल गरे । भालेर गोल गरेको १० मिनेटमै डी मारियाले पेनाल्टी क्षेत्र भित्रबाट गोल गर्दै पीएसजीलाई अग्रता दिलाए ।

६२ औं मिनेटमा मार्सेका गोलरक्षक स्टिभ मान्डान्डाले पेनाल्टी क्षेत्रबहिर आएर हातले बल समातेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाए । उक्त फ्रिकिकलाई डी मारियाले गोलमा परिणत गर्दा पीएसजीले ३-१ को जित निकाल्यो ।

खेल सकिन केहि मिनेट बाँकी छँदा पीएसजीले पेनाल्टीको अवसर प्राप्त गर्यो ,तर गोल भने गर्न सकेन । एमबाप्पेको प्रहार गरेको पेनाल्टीलाई वैकल्पिक गोलरक्षक योहान पेलेले बचाए । हिरोकी सकाईले एमबाप्पेलाई लडाएपछि पेनाल्टी पाएको थियो । यस जितसँगै पीएसजी २८ खेलमा ७७ अंक जोड्दै अग्रता बढाउन सफल भएको छ । २९ खेलमा ५७ अंक जोडेको लिल दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्