पोर्टल्याण्डबाट संघीय सुरक्षाकर्मी फिर्ता लिँदै ट्रम्प



काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओरेगन राज्यको पोर्टल्याण्डमा परिचालित संघीय सुरक्षाकर्मी फिर्ता लिने घोषणा गरेका छन् । उनका अनुसार यदि स्थानीय सुरक्षाकर्मीले त्यहाँ सुरक्षा दिनसक्ने हो भने संघीय सुरक्षाकर्मी फिर्ता गरिने शर्त पनि राखेका छन् । राष्ट्रपतिको यो खाले शर्तात्मक घोषणाको पोर्टल्याण्डमा सतर्कतापूर्वक स्वागत गरिएको छ ।

केही समयदेखि देखिदै आएको झडप र प्रदर्शनलाई लिएर ट्रम्पले असुरक्षाको कारण देखाई संघीय सुरक्षाकर्मी पठाएका थिए । संघीय सुरक्षाकर्मीहरु बिहीवारदेखि फिर्ता हुन थालेसँगै संघीय मामलासँग सम्बन्धित भवन तथा अफिसहरु र अन्य सम्पत्तिको सुरक्षाको जिम्मा सम्झौताअनुसार स्थानीय सरकारले लिन थालेको छ ।

पोर्टल्याण्डमा संघीय सुरक्षाकर्मी प्रवेशको विषयलाई लिएर स्थानीय बहस सुरु भएको छ, रिपब्लिकन र डेमोक्र्याटका बीचमा । रिपब्लिकन पक्षधरले भन्ने गरेका छन– यदि समयमै संघीय सुरक्षाकर्मी त्यहाँ नपुग्दा हुन् त पोर्टल्याण्ड आज पोर्टल्याण्डकै अवस्थामा रहने थिएन । प्रदर्शन नियन्त्रणपछि हाल संघीय मामलासँग सम्बन्धित सबै अफिसमा काम सुचारु भैरहेको बताइएको छ ।

केही समयअघि अश्वेत जर्ज फ्लोइडको श्वेत गार्डबाट निमर्मम तरिकाले घाँटी थिचेर हत्या गरिएपछि पोर्टल्याण्डमा अशान्ति मच्चिन थालेको थियो । विरोध प्रदर्शनको मात्रा पनि बढ्दै गैरहेको थियो । यही निहुमा राष्ट्रपतिले संघीय सुरक्षाकर्मी परिचालन गरेका थिए ।

(एजेन्सीको सहयोगमा)

प्रकाशित : साउन १५, २०७७

प्रतिक्रिया दिनुहोस्