मर्यादित होली मनाउन वीरगन्जमा जनचेतनामूलक रैली



वीरगन्जः समुदाय र प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पर्साका सरोकारवालाले मर्यादित एवं सभ्य तरिकाले होली मनाउन वीरगन्जमा जनचेतनामूलक रैली निकालेका छन्। होटल तथा पर्यटन व्यवसायी संघ, जिल्ला प्रहरी कार्यालय पर्सा र व्यवस्थित वीरगन्ज अभियानको संयुक्त आयोजनामा सोमबार बिहान वीरगन्जमा भव्य र सभ्य तरिकाले होली मनाउन नगरवासीसँग आह्वान गर्दै जनचेतनामूलक ¥यालीको आयोजना गरेका हुन्। 

वीरगन्जको घण्टाघर चोकबाट निकालिएको रैलीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, वीरगन्जका होटल व्यवसायी, व्यवस्थित वीरगन्ज अभियानका अभियन्ता, सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली, कुम्हालटोल र छपकैया, वीरगन्ज स्प्रिट क्लब, नेपाली कांग्रेसका नेता कार्यकर्ता, सञ्चारकर्मीलगायत सर्वसाधारण समेतको उल्लेखनिय सहभागिता थियो। 

रैलीका सहभागीले विभिन्न नाराअंकित प्लेकार्डसमेत बोकेका थिए। उनीहरूले रङको पर्व होली सभ्य र सुरक्षित तरिकाले मनाऔं, इच्छाविपरीत जथाभावी रङ नदलौं, आपसी सद्भावसहित मनाऔं, होली करले होइन रहरले मनाऔं, मापसे गरी सवारीसाधन नचलाऔं, नसालु पदार्थ सेवन नगरौं र दुर्घटनाबाट बचौंलगायत नारा अंकित प्लेकार्ड बोकका थिए। 

नगर परिक्रमापश्चात् रैली सेनाको ब्यारेकनजिकै रहेको रोयल पार्ट प्यालेसमा आयोजित होली मिलन तथा शुभकामना मन्तव्य कार्यक्रममा वक्ताहरूले होली रङको पर्व भएकाले परिवार, आफन्त, साथीभाइलगायतसँग होली खेली उमंग र मर्यादित बनाउन सबैसँग आग्रह गरेका थिए। 

नेपाली कांग्रेसका पर्सा सभापति अजय द्विवेदी, डीएसपी मानबहादुर राई र नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराले एकअर्काको सम्मान गरी अरूको हकअधिकारको आदर गरी सम्बन्ध तोड्ने र फोड्ने नभएर सम्बन्ध गाँसेर सभ्य नागरिकको पहिचान देखाउन सबैमा आग्रह समेत गरे।

होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तको नेतृत्वमा भएको कार्यक्रममा पर्यटन पत्रकार संघका अध्यक्ष शंकर आचार्य, अभियन्ता ओमप्रकाश सर्राफ, वीरगन्ज महानगरपालिका वडा नम्बर ३, ४ र ५ का वडाध्यक्ष क्रमशः बैजु स्वर्णकार, जगत साह र प्रदीप चौरसियालगायतले होलीको शुभकामना व्यक्त गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्