प्रहरी मुख्यालय नक्सालमा कोरोना महामारी



काठमाडौं : प्रहरी मुख्यालयमा कोरोना संक्रमितको संख्या एकैपटक ‘बुष्टअप’ गरिए झैं ह्वात्तै देखा परेपछि यसले सबैलाई चिन्तित बनाएको छ ।

केहि दिनदेखि मुलुकभरको शान्ति सुरक्षाको जिम्मा लिएको मुख्य सुरक्षा अंग नेपाल प्रहरीकै मुख्यालयभित्र कोरोना महामारी फैलिएको छ । पछिल्लो चार दिनमा प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ४४ प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । बिहीबार बिहान थप ९ जना प्रहरी कर्मचारीमा कोरोना देखिएपछि यो संख्या ४४ पुगेको हो ।

प्रहरी मुख्यालयको सवारी शाखा–एमटीमा कार्यरत एक हवल्दार दुई साताअघि बाढी पहिरोमा घर परेपछि सिन्धुपाल्चोक गएका थिए । कार्यालय फर्किएपछि उनमा ज्वरो आएपछि साउन ८ गते परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।

उनमा कोरोना संक्रमण पुष्टि भएपछि उनी कार्यरत शाखालाई सिल गरियो भने उनको सम्पर्कमा आएकाहरुको परीक्षण शुरु गरियो ।

भोलिपल्ट त्यही शाखाका थप तीन जनामा भाइरस भेटिएपछि मुख्यालयमा महामारी फैलिएको पुष्टि भयो । मुख्यालयको सञ्चार, सुरक्षा गार्ड शाखा र सामूहिक भान्सामा समेत संक्रमित देखिइसकेका छन् ।

अहिले प्रहरी मुख्यालयभित्र भाइरस फैलिएपछि स्वास्थ्य सुरक्षा सतर्कता उच्च तुल्याइएको छ भने बाह्य व्यक्तिको प्रवेशमा रोक लगाइएको छ ।

एक विभागबाट अर्को विभाग आवतजावतमा कडाइ गरिएको छ । संक्रमित फेला परेका एमटी र सञ्चार शाखासँग अन्यको सम्पर्क तोडिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले कार्यक्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन जारी गरिसकेका छन् ।

आमजनता र तिन क्रियाकलासँग सन्निकट रही काम गर्ने नेपाल प्रहरीहरुमा कोरोना संक्रमण बढ्दै गएको तथ्यांकले देखाएको छ ।

देशका अन्य भागमा पनि प्रहरी कर्मचारीमा संक्रमण देखिएको छ । अहिलेसम्म २ सय ६ जना प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भइसकेको छ । गण्डकी प्रदेशमा सबैभन्दा धेरै ४५ प्रहरीलाई संक्रमण भएको छ । स्याङ्जामा त प्रहरीसहित ६५ जना सुरक्षाकर्मी संक्रमित भएका छन् ।

कामका लागि प्रहरी मुख्यालय कार्यालय बाहिर आवतजावत गरिरहने प्रहरी कर्मचारीमा संक्रमणको उच्च जोखिम देखिएको अनुसन्धानका क्रममा खुलेको छ । यसले प्रहरी मुख्यालय बाहिर आम जनतामा व्यापक मात्रामा कोरोना संक्रमण फैलिइरहेको पुष्टि समेत गर्दछ ।

त्यसोत अग्रपंक्तिमा खटिने प्रहरी कोरोना संक्रमणको जोखिम उच्च छ । यसरी प्रहरी मुख्यालयभित्रै भाइरस फैलिनुले पर्याप्त सावधानी नअपनाइएको भन्ने पुष्टि गरेको छ ।

प्रकाशित : साउन १५, २०७७

प्रतिक्रिया दिनुहोस्