काठमाडौंमा सुनको झोला फ्याकेर भगेका तीन जना नवलपरासीबाट पक्राउ



काठमाडौं : काठमाडौंमा गत मंगलबार सुन भएको झोला फालेर भागेका तीन जना भारतीय नागरिक नवलपरासी पूर्वबाट पक्राउ परेका छन् । उनीहरुले २ थान पेस्तोल, १४ केजी ५ सय ग्राम चाँदी र ५ सय ग्राम सुनसहितको झोला सडकमा फ्याँकेर भागेका थिए ।

महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पूर्वी नवलपरासीको दुम्कीबासबाट तीनै जनालाई पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार देवान पटेल, विजय पटेल र निलेश सखिया बुधबार दिउँसो पक्राउ परेका हुन् । सखिया १२ दिनअघि नेपाल आएका थिए । अन्य दुई जना केही महिना पहिले नै काठमाडौं आएको खुलेको छ । तीनैजना अभियुक्त गुजरातको राजकोटका नागरिक भएको पनि खुलेको छ । उनीहरुलाई राति नै काठमाडौं ल्याइएको छ ।

यसैगरी सुन भएको झोला फालेर भागेको गाडी बिहीबार भेटिएको छ । बा ६ च ५५१९ नम्बरको स्कोर्पियो गाडी ललितपुरको नखिपोटमा फेला परेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

नखिपोटमा एक बन्दै गरेको घरको कम्पाउन्डभित्र छोपेर राखेको अवस्थामा गाडी भेटिएको  प्रहरीको भनाइ छ ।

उनीहरुले मंगलबार बिहान कमलादीमा चाँदीको बिस्कुटमा जलप लगाइएको साढे १४ केजी र ५ सय ग्राम सक्कली सुन तथा २ थान पेस्तोल बाटैमा मिल्काएर भागेका थिए ।

यसबारे महानगरीय अपराध महाशाखाले थप छानबिन गरिरहेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गले घटनास्थल कमलादी बताएको थियो । तर महाशाखाको अनुसन्धानमा घटनास्थल अन्यत्रै रहेको हुनसक्ने आशंकामा पनि अनुसन्धान गरिरहेको छ । प्रहरीले किन त्यसदिन घटनास्थल परिवर्तन गरेको भन्नेमा पनि अनुसन्धान भइरहेको महाशाखा स्रोतले बतायो ।

प्रकाशित : साउन १५, २०७७

प्रतिक्रिया दिनुहोस्