पर्साका प्रमुख राजनितिक दलले भने-‘कोरोनाको रोकथाम प्रभावकारी भएन’



पर्साः पर्सा जिल्लामा कोभिड संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएकोमा त्यहाँका प्रमुख राजनितिक दलले चिन्ता व्यक्त गरेका छन् ।

नेपाली काँग्रेस, जसपा र नेकपाका अध्यक्ष तथा प्रतिनिधिको संयुक्त अध्यक्षतामा बिहिबार बसेको सर्वपक्षिय बैठकले कोभिड रोकथाम तथा नियन्त्रणबारे बृहत छलफल गरेको हो ।

विगत दुई सातामै कोभिडको संक्रमण समुदाय स्तरमै फैलिएर यसको संख्या १५० भन्दामाथि पुगेको र १० जनाको ज्यान गैसकेको छ । नारायणी अस्पतालको प्रयोगशालाबाट करिब १५ सय भन्दाको पीसीआर परिक्षणको रिपोर्ट आउँन बाँकी छ ।

तर यसको नियन्त्रण गर्न सम्बन्धित निकाय प्रभावकारी भुमिका निर्वाह गर्न नसकेपछि वीरगन्ज उद्योग वाणिज्य संघको पहलमा जिल्लाका प्रमुख राजनितिक दलको बैठक बसेको हो । बैठकले कोरोना नियन्त्रण तथा रोकथाम गर्न तीन तह बिच समन्वयकारी भुमिका निर्वाह गराउँन पहलसहित यसको समाधानका निम्ती विभिन्न माँगसमेत अघी सारेका छन् ।

बैठकले कोभिड संक्रमित नियन्त्रण गर्न विज्ञसहितको चिकित्सक र स्वास्थकर्मीहरुको विशेष टोली तत्काल वीरगन्ज पठाइ सम्पुर्ण व्यवस्थापन गरि दिन संघीय सरकार स्वास्थ्य मन्त्रालयसँग आग्रह गरेको छ । संक्रमितहरुको संख्या बढेसँगै यहाँ आईसोलेशनको अभाव हुन थाले पनि यहाँका निजि अस्पताललाईसमेत कोभिड अस्पतालको व्यवस्थापन र संचालनमा ल्याउँन संघ सरकारसँग माग गरेका छन् ।

कोभिड संक्रमणबाट ज्यान गुमाएकाहरुको शव दाह संस्कार गर्न लैजादा विभिन्न ठाउँबाट विरोध हुन थालेपछि यसको उचित व्यवस्थापनको लागि वीरगन्जमै विद्युतिय शवदाह गृह स्थापना गर्न आवश्यक पहल गर्ने निर्णय भएको जनता पार्टीका तत्कालीन महानगर अध्यक्ष ओमप्रकाश सर्राफले बताए ।

बैठकले नारायणी अस्पतालको बन्द सेवा सुरक्षा अपनाएर सुचारु गर्न र अस्पताललाई रुटिङ्ग हेल्थ सर्भिस अर्था जनरल अस्पतालकै रुपमा सुचारु राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समक्ष आग्रह गर्ने निर्णय गरेको छ ।

त्यसैगरी कोभिडबाट मृत्यु भएकाहरुको सम्मानजनक शवको अन्त्येष्टि हुनु पर्दछ । अहिलेको महामारी को बेला एक ले अर्को को शवदाह मा अवरोध गर्नु कदाचित् मानवता, समाजिकता र धार्मिक रितीरिवाज बिरुद्ध रहेको बैठकले ठहर गरेको छ ।

सबैलाई शवदाहमा सघाउन र आ–आफ्नो दायित्व, जिम्मेवारी निर्वाह गर्दै सम्पूर्ण सुरक्षा अपनाएर गरिने शवदाहमा कसैले पनि विरोध नगरिदिन अनुरोध बैठकले गरेको छ । बैठकमा नेपाली काँग्रेस पर्साका सभापती अजय दुवेद्धी, जसपाका अध्यक्ष राम नरेश यादव, नेकपाका प्रतिनिधि महेश दास, प्रदेश सांसद ओम प्रकाश शर्मा, राजेश्वर साह तेली, डा. अन्जु यादव, जन्नत अन्सारी, वीरगन्ज उघोग वाणिज्य संघ का अध्यक्ष गोपाल केडिया, प्राध्यापक लालन द्धिवेदी, समाजिक अभियान्ता बिजेश्वर प्रसाद चौधरी लगायतको सहभागिता रहेको थियो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पर्सामा बिहीबार दिउँसोसम्म संक्रमितको संख्या ३ सय ५६ पुगेको छ । यस्तै कोरोनाका कारण अहिलेसम्म १० जनाको मृत्यु भइसकेको छ ।
पर्सा जिल्लामा हालसम्म ३ सय ५६ जना कोरोना संक्रमितको संख्या पुगेको छ । नारायणी अस्पतालको अस्यायी कोभिड गण्डक अस्पतालमा ५० बेडको मात्र आईसोलेशन वार्ड रहेपनि अहिले ६० जना संक्रमितलाई राखेर उपचार गर्ने काम भईरहेको कोभिड अस्पतालका ईन्चार्ज डा. उदयनारायण सिंहले बताए ।

उनका अनुसार अहिले पनि ९० जना संक्रमितलाई होम आईसोलेशनमै राखिएको छ । तर होम आईसोलेशनमा राखेपनि विश्वा स्वास्थ्य संगठनको मापदण्ड पुरा हुन सकेको छैन, उनले भने,‘ समयमै यसको व्यवस्थापन गर्न सकिएन भने संक्रमितको घर परिवारमा समेत संक्रमण फैल्न सक्ने छ जसको कारण पर्सा जिल्लाको अवस्था नै भयावह हुने छ । संक्रमितको संख्या बढेसंगै पर्सा संकट व्यवस्थापन केन्द्रले यसको नियन्त्रणको लागि शनिबार देखि नै अनिश्तिकालिन निषेधाज्ञा लगाएर एक घर एक परिक्षण अभियान जारी नै राखेको छ । अभियानले थप कोरोना संक्रमितको संख्या बढ्न सक्ने अनुमानसमेत लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्