खाली पेट खान नहुने खानेकुरा



काठमाडौं : यस्ता धेरै खानेकुरा छन् जुन खाली पेटमा बिर्सेर पनि खानु हुँदैन। यस्ता खानेकुराले हाम्रो स्वास्थ्यमा फाइदाको साटो हानि गरिरहेको हुन्छ।

केरा : केरामा पर्याप्त मात्रामा फलाम र पोटासियम हुन्छ। निकै फाइदाजनक भए पनि खाली पेटमा केरा खाँदा स्वास्थ्यमा प्रतिकूल असर गर्न सक्छ। त्यसैले बिर्सेर पनि खाली पेट केरा खान हुँदैन।

माइग्रेन र एसिडिटीको समस्या भएका व्यक्तिले खाली पेट केरा खानु हुँदैन। खाए एसिडिटी अझै बढ्छ। यसले रगतमा खनिजको मात्रा घटबढ हुन्छ।

अमिला फलफूल : भिटामिन सी अत्यधिक पाइने कागती, सुन्तला, अंगुरलगायत अमिलो वर्गका फलफूल शरीर स्वस्थ राख्न निकै महत्वपूर्ण हुन्छन्। तर कुनै खानेकुरा नखाई यस्ता फलफूल सेवन गर्दा एसिडिटी बढ्न सक्छ। 

दही  : क्याल्सियम र प्रोटिनले भरिपूर्ण दही स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ। दही खाँदा शरीरलाई ऊर्जाका साथै पाचनसम्बन्धी समस्या घटाउन सघाउँछ। यसले तनाव कम गर्छ। तर खाली पेटमा दहीसेवन गरे बेफाइदा हुनसक्छ। खाली पेटमा दही खाए एसिडिटी बढ्नुका साथै चिसोले समाउन सक्छ।

टमाटर : सलाद, तरकारी र अचारमा प्रयोग गरिने टमाटरमा एन्टी अक्सिडेन्ट प्रसस्त पाइन्छ। यसले क्यान्सर र मुटुसम्बन्धी रोगको जोखिम घटाउनुुका साथै छाला स्वस्थ राख्न मद्दत गर्छ। टमाटरमा भिटामिन सी, भिटामिन के, पोटासियम तथा फोलेट पनि पर्याप्त पाइन्छ। तर खाली पेट टमाटर खाए एसिडिटी बढ्नुका साथै पत्थरी, ग्यास्ट्रिक तथा अल्सरको जोखिम धेरै बढ्छ।

चिया र कफी : चिया र कफी नखाने मानिस बिरलै होलान्। तर खाली पेट चिया वा कफी सेवनले हामीलाई बेफाइदा नै धेरै गर्छ। यसले एसिडिटी बढाउनका साथै पेट पोल्ने र अपचलगायत समस्या हुन सक्छ। त्यसैले चिया कफी पिउनुअघि पानी पिए चिया कफीको असर कम पर्छ भनिन्छ ।

अमिलो, पिरो र धेरै मसलायुक्त खानेकुरा : अमिलो, पिरो र धेरै मसलायुक्त खानेकुराले पनि फाइदाभन्दा हानी नै बढी गर्न सक्छ। यस्ता खानेकुराले भोजन स्वादिलो बनाए पनि एकाबिहानै केही नखाई पिरो, अमिलो र मसला धेरै हालेको खानेकुराले अपच, ग्यास्ट्रिक र अल्सरको सम्भावना दुई गुणा बढाउँछ। धेरै मसलायुक्त खानेकुराले शरीरमा एसिडको मात्रा बढाउँछ र पाचन प्रणाली बिगार्छ, फलस्वरूप पेट दुख्छ।

औषधि : जुनसुकै रोग लागे पनि उपचारमा डाक्टरहरूले धेरैजसो औषधि सिफारिस गर्छन् र ती औषधि खानु पर्छ। यस्ता कतिपय औषधि खाली पेट अर्थात् अरु कुनै खानेकुरा खानुअघि खानुपर्ने हुन्छ। अधिकांश औषधि केही खानेकुरा वा भोजनपछि खानुपर्ने हुन्छन्। त्यस्ता औषधि खाली पेट सेवन गरे शरीरमा एसिडको स्तर बढ्छ र छाति पोल्ने, अमिलो डकार आउनेसँगै अल्सरको सम्भावना पनि बढाउँछ।

प्रतिक्रिया दिनुहोस्