विराटनगरमा भोलिदेखि फेरी लकडाउन



विराटनगर : विराटनगर महानगरपालिकामा शुक्रबार राति १२ बजेदेखि लागू हुने गरि फेरी लकडाउन हुने भएको छ । समुदायस्तरमा कोरोनाको संक्रमण फैलिएको निष्कर्षसहित महानगरपालिकाले भोलिदेखि लागू हुने गरि दुई साताका लागि फेरि लकडाउन गर्ने निर्णय गरेको मेयर भीम पराजुलीले जानकारी दिए ।

शुक्रबार बसेको नगरस्तरीय कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि लकडाउन गर्नुको विकल्प नभएको निष्कर्ष निकालेको उनले बताए ।

‘महानगरभित्र एक सय जनाभन्दा बढी संक्रमित फेला परिसकेका छन् । समुदायमा संक्रमणको दर बढ्दो छ । त्यसैले अत्यावश्यक बाहेक अन्य कामका लागि बाहिर निस्कन बन्देज लगाउने निर्णय गरेका छौं,’ ’ मेयर पराजुलीले भने ।

यसअघि आइतबार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले लकडाउन खुलेसँगै खुला भएका साप्ताहिक हाटबजार पनि बन्द गर्ने, कोरोना जाँचको दायर पनि बढाउने निर्णय गरेको थियो ।

प्रकाशित : साउन १६, २०७७

प्रतिक्रिया दिनुहोस्