कांग्रेसभित्र महाधिवेशन कब्जाको तयारी !



काठमाडौं : आउँदो हिउँदमा सम्पन्न हुन गइरहेकोे नेपाली कांग्रेसको १४औं महाधिवेशनमा आआफ्नो जित सुनिश्चित गर्न पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल खेमाबीच आआफ्ना महाधिवेशन प्रतिनिधि सुनिश्चितताका लागि होड चलिरहेको छ ।

आफ्नो पक्षमा महाधिवेशन प्रतिनिधि बढीभिन्दा बढी बनाउने ध्येयका साथ शेरबहादुर देउवाले आफू अनकुल हुने गरी पार्टीभित्र मनोनयन र नियुक्तिमा तीव्रता दिँदै अघि बढिरहेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष प्रतिवादमा उत्रिएका छन् ।

पौडेल पक्ष मिटिङ बसी सभापतिले देउवाले विधान विपरीत गठन गरेका विभाग, क्रियाशील सदस्यतामा गरिएको मनोमानी, पार्टी एकतामा आएकालाई समायोजन गर्दा सदस्यता वितरणमा गरिएको मनलाग्दी, पार्टीका आन्तरिक संरचनाको समायोजन, जनसम्पर्क समिति निर्माण र भ्रातृ संस्था सक्रिय हुन नसकेकोजस्ता विषयलाई लिएर गम्भीर ध्यानाकर्षण गराउन पुगेको छ ।

विधानतः पार्टी महाधिवेशनको मिति तोकिसकेपछि पार्टी सभापति कार्यकारी रहँदैनन् । तर सभापति देउवाले कार्यकारी अधिकार निरन्तर प्रयोग गरिरहेका छन् । यही विषयलाई लिएर नेता प्रकाशमान सिंहले समेत पार्टी सभापति देउवाविरुद्ध कडा टिप्पणी गरिसकेका छन् । उनको भनाइमा सभापति देउवालाई यस्ता कार्य गर्नबाट रोक लगाउनु जरुरी भइसकेको छ ।

यसरी एकअर्कामा रस्साकस्सी हुँदै जाँदा पौडेल पक्षले आफ्ना मागहरु लिखित रुपमै राखेर सभापतिको ध्यानाकर्षण गराएको छ । पौडेल पक्षले महामन्त्री शशांक कोइराला, नेताहरू मिनेन्द्र रिजाल, शेखर कोइराला, चन्द्र भण्डारी लगायतका नेताहरुसहित सभापतिको कार्यकक्षमा पुगी निर्णय सुनाएका थिए । त्यतिबेला सभापति देउवा उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का र एनपी साउदलाई साथमा लिएर कार्यालयमा कुरिरहेका थिए ।

पार्टीे विधानअनुसार ६ महिनाभित्र गठन गर्नुपर्ने विभाग १४ औं महाधिवेशनको मुखैमा आएर अगाडि बढाएपछि यी सबै कामकारवाही अस्वीकार्य हुने पौडेलले बताएका थिए ।

उता देउवाले भने गठित समितिहरुमा आफ्ना मानिसको नाम दिन आग्रह गरे । तर, पौडेलले नाम दिन अस्वीकार गरेपछि देउवाले रामचन्द्रजीलाई धन्यवाद भन्दै आफ्नो हजार भोट बढ्ने बताएका थिए ।

देउवाले उल्टै आरोप लगाउँदै पौडेललाई भनेका थिए– ‘विभाग गठनगर्दा तपाईलाई पर्खिए, नाम दिनुभएन । अझै आउनुस् । सबै मिलेर जाँदा महाधिवेशन कसरी प्रभावित हुन्छ ?’

गत वर्ष फागुनबाटै पार्टी सभापतिको म्याद समाप्त भइसकेका देउवाले एक वर्ष थप गरी पार्टी अधिवेशन आउँदो फागुन महिनासम्म लम्ब्याएका हुन् । नेपाली कांग्रेसले आउने फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ ।

प्रकाशित : साउन १६, २०७७

प्रतिक्रिया दिनुहोस्