गुल्मीमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ को मृत्यु



गुल्मी : गुल्मीको रुरुक्षेत्र गाउँपालिका वार्ड न ५ टाहाटिम आटिपाटामा शुक्रबार साँझ पहिरोले घर बगाउँदा एकै घरका ४ जनाको ज्यान गएको छ ।

लगातारको वर्षाका कारण माथिबाट खसेको पहिरोले स्थानीय राजु बोटेको घर बगाउँदा चार जनाको ज्यान गएको वडा अध्यक्ष हरि ज्ञवालीले जानकारी दिए ।

पहिरोमा परेर राजु बोटेकी श्रीमती र दुई छोरा र एक छोरीको ज्यान गएको उनले बताए ।

राजु बोटे भने वैदेशिक रोगारीमा छन । अहिले घटनामा परेकाहरुको उद्धारका लागि इलाका प्रहरी चौकी रिडी र इलाका प्रहरी चौकी जोहाङ्गको टोली घटना स्थल जाँदै छ ।

“त्यहाँ पुग्ने बाटोसमेत पहिरोले अबरुद्ध हुँदा हामी पुग्न अझै २ घण्टा जति लाग्छ, भौतिक र मानवीय क्षतिको खबर आएको भएपनि अहिले यत्तिकै केही भन्ने अवस्था छैन ।” रिडिका प्रहरी नायब निरीक्षक शालिकराम थापाले भने ।

टाहाटिम बजारसम्म पुग्ने बाटोसमेत अबरुद्ध भएकाले त्यहाँबाट करिब २ घण्टाको पैदल यात्रा पछि घटनास्थल पुगिन्छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्