नौँ भ्रातृ संघको म्याद थपेपछि काँग्रेसमा भाडभैलो



काठमाडौं : काँग्रेस सभापति शेरबहादुर देउवाले ९ वटा भ्रातृ संघको म्याद ६ महिना थपेपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले विरोध गरेका छन्।

शुक्रबार विज्ञप्तिमार्फत आगामी केन्द्रीय समिति बैठकबाट अनुमोदन हुनेगरी ६ महिना म्याद थप भएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका थिए।

मुख्य सचिव पौडेलका अनुसार नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको पदावधि थप भएको हो।

तर शुक्रबार राति फेसबुकमार्फत निहित स्वार्थका लागि पटकपटक अधिवेशन स्थगित गराउँदै भातृ संस्थाहरुको अस्थिपन्जर मात्र बाँकि राख्ने काम भएको पौडेलले प्रक्रिया जनाएका थिए ।

पौडेलले महाधिवेशनको नजिक आएर म्याद थप्ने विज्ञप्ति जारी गराउने जस्तो निर्लज्ज कार्य भएको बताए ।

उनले पार्टीको संगठन र यसको आन्तरिक लोकतन्त्रलाई धज्जी उडाइएको बताउदै गम्भीर हुन आग्रह गरेका छन् ।

नेता पौडेलले भनेका छन्,‘निहित स्वार्थका लागि पटकपटक अधिवेशन स्थगित गराउँदै ल्याएर सारा भातृ संस्थाहरुको अस्थिपन्जर मात्र बाँकि राख्ने , त्यसमाथि अब अहिले म्याद थप्न पार्टीको बैठक सम्म राख्न आवश्यक नठानी केवल निर्देशानुसार भन्दै नौ नौ वटा भातृसंस्थाको म्याद थप्ने विज्ञप्ति जारी गराउने जस्तो निर्लज्ज कार्यले पार्टीको संगठन र यसको आन्तरिक लोकतन्त्रलाई धज्जी उडाइदैछ। लोकतन्त्रका लागि आफ्नो जीवन अर्पेर हिंडेका साथीहरू १ गम्भीर हुनुहोस् १’

आसन्न महाधिवेशन प्रभावित पार्ने गरी विभाग गठन, विस्तारका साथै पार्टीमा नवप्रवेशीलाई विधानविपरीत आफूखुसी क्रियाशील सदस्यता वितरण गरिएको भन्दै पौडेल समूहले असन्तुष्टि जनाएको छ।

१४ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेपछि कुनै पनि नियुक्ती वा मनोनयन गर्न नपाइने पौडेल पक्षको माग छ। सभापति देउवाले फागुन दोस्रो करिब २० विभाग गठन गरेका थिए।

फागुन १९ गते चारवर्षे औपचारिक कार्यकाल सकिन केही दिनअघि देउवाले विभाग संयोजक मात्रको जिम्मेवारी दिएका थिए।

विभाग गठनप्रति सुरुदेखि नै पौडेल समूह असन्तुष्ट थियो। तर, पछिल्लो समय सभापति शेरबहादुर देउवाले विभाग विस्तारलाई तीव्रता दिएपछि उनीहरू थप चिढिएका हुन्। देउवा महाधिवेशनलाई प्रभावित पार्न विभाग गठन र विस्तार गर्न सक्रिय रहेका पौडेल समूहको आरोप छ।

केही समय अघि मात्रै नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला र कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको केन्द्रीय निर्वाचन समितिमा लिखित उजुरी नै दिएका थिए। उक्त उजुरीको सुनाइ नभएपछि पौडेल समूहले सभापति देउवालाई भेटेर ध्यानाकर्षण गराएको थियो । तर देउवाले पनि गम्भीरता पूर्वक नलिएपछि पौडेलू सार्वजनिक रुपमा उत्रिएको छ । योसँग काँग्रेसमा भाडभैलो मच्चिने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्