शुक्लाफाँटामा पर्यटन महोत्सव हुने



कैलाली : सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तब्य कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा पर्यटन महोत्सव आयोजना हुने भएको छ। भिमदत्त नगरपालीकाको अगुवाईमा भिजिट् नेपाल २०२० लाई लक्षित गरी चैत १५ देखी २१ गतेसम्म महोत्सव हुन लागेको आयोजकले जनाएको छ।

प्रचुर सम्भावना बोकेको शुक्लाफाटा राष्ट्रिय निकुञ्जको प्रचार प्रसार गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागी महोत्सवको आयोजना गरिएको नाटा सुदूरपश्चिम समितिका संयोजक मायाप्रकाश भट्टले जानकारी दिए। महोत्सवमा देश तथा तेस्रो मुलुकबाट पनि पर्यटन व्यवसायीको सहभागीता हुने बताइएको छ।

महोत्सवले निकुञ्ज क्षेत्रभित्र पार्ने प्रभावलाई मध्यनजर गरी दैनिक ३ सयदेखि ५ सय पर्यटकलाई अवलोकन गराउन सकिने व्यवस्था गरिएको भएपनि विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत पाँच लाख भन्दाबढी दर्शकसम्म निकुञ्जको बारेमा जानकारी पुर्याइने भिमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टले बताए।

महोत्सवमा काठमाडौं, पोखरा, बर्दीया, नेपालगन्जका साथै भारतको नैनिताल, देराधुन लगायतका क्षेत्रबाट पर्यटन व्यवसायीलाई बोलाइएको धनगढीका पर्यटन व्यवसायी पदम बिक्रम सिहंले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस्