जोगिन्दरको नाममा ब्रान्ड, कलाकारिता क्षेत्रमै पहिलो



काठमाडौं : लोकप्रिय अभिनेता शिव शंकर रिजाल उर्फ जोगिन्दर पानवालाको नाममा ब्रान्ड निस्किने भएको छ ।

उनको नाममा नेपाल ब्राण्डको ‘जोगिन्दर गुट्का’ निस्किने भएको हो ।

यही साउन १९ गते सोमबारदेखि बजारमा उपलब्ध हुने गुट्खाको नाम नै ‘जोगिन्दर गुट्का’ राखिएको छ ।

नेपालमै उत्पादन हुने उक्त प्रोडक्ट आफ्नो नामबाट निस्किदा कलाकार रिजाल निकै खुशी छन् ।

नेपाली कलाकारिताको इतिहासमै कुनै पनि कलाकारको उपनामबाट निस्किन लागेको प्रोडक्ट नेपालमा सम्भवतः यो पहिलो हो ।

‘मेरो नाममा प्रोडक्ट निकाल्दै छु भनेपछि मलाइ खुशी लाग्यो’ कलाकार रिजालले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा भने – ‘हामीले प्रस्तुत गरेको क्यारेक्टरमा लगानी गरेर कसैले स्वदेशमा रोजगारीको अवसर ल्याउछ भने हामी खुशी हुनुपर्छ ।’

उत्पादक पूजा सुर्ती उद्योगका सञ्चालक हिरालाल शाहले पनि आफूले कम्पनी स्थापना गर्दै स्वदेशमा रोजगारीको सृजनामा लागेको बताए ।

उनले ब्राण्डका लागि अन्य नाम पनि कल्पना गरेका थिए, तर अरुसँँग मिल्दो भएपछि आफुलाई मनपर्ने टेलिभिजन कार्यक्रम ‘जोगिन्दर बोले प्रणामजी’ बाट जोगिन्दर सापटी लिदै प्रोडक्ट नै बजारमा ल्याएका उनको भनाइ छ ।

हिरालाल स्वयं पान व्यवसायी हुन् । उनले जोगिन्दरको टेलिभिजन कार्यक्रमका नियमित दर्शक समेत भएको बताए ।

‘हामी पान व्यवसायीको शान जोगिन्दरजीले बढाउनु भएको छ । त्यसैले उहाँको सम्मानमा प्रोडक्ट बजारमा ल्याएका हौँ,’ शाहले भने ।

प्रतिक्रिया दिनुहोस्