धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या, श्रीमान गम्भीर घाइते



महेन्द्रनगर : कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा गए राति धारिलो हतियार प्रयोग गरी अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको हत्या गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले श्रीमती खातीको हत्या गरिएको बताउँदै उनका श्रीमानलाई हतियार प्रयोग गरी गम्भीर घाइते बनाएको जानकारी दिए ।

उनले अज्ञात समूहकै आक्रमणबाट हत्या गरिएका बेलुका श्रीमान ६२ वर्षीय घनश्याम गम्भीर घाइते भएको बताए ।

‘गम्भीर घाइतेलाई उपचारका लागि धनगढी पठाएका छौँ’, प्रवक्ता थापाले भने, ‘घटना खाती परिवारको घरमै मध्यरातमा भएको देखिन्छ ।’

उनले घटनाको अनुसन्धान भइरहेको बताए ।

प्रहरीले घटनाको सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको छ ।

‘सोधपुछका लागि छोरासहित दुई जनालाई नियन्त्रणमा लिएका छौँ’, थापाले भने । रासस

प्रतिक्रिया दिनुहोस्