परीक्षणको दायरा बढेसँगै पर्सामा कोरोना संक्रमित बढे, सांसद र मेयरलाई संक्रमण भेटियो



पर्साको संकट व्यवस्थापन केन्द्रले पीसीआर परिक्षणको दायरा बढाएसँगै जिल्लामा संक्रमितको सख्या दिनप्रति दिन थपिदै गएको छ ।

वीरगन्ज महानगरको विभिन्न वडाबाट मास र कन्ट्रक्ट ट्रेसिङ आधारमा समुदायबाट संकलन गरिएको स्वाबको दुई दिनको रिपोर्टमा १०८ जना संक्रमित थपिएका छन् ।

बिहिबार मात्र नारायणी अस्पतालको प्रयोगशालाले सार्वजनिक गरेको रिपोर्टमा चिकित्सक, स्वास्थ्यकर्मीसहित ४४ जना संक्रमित थपिएका थिए ।

शुक्रबार राित साढे ११ बजे पुनः अर्को रिपोर्ट सार्वजनिक गरेपछि जिल्लामा एक सांसद सहित ६४ जनामा कोरोना संक्रमणको पुष्टि हो ।

अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव, उनका सवारी चालक र अंगरक्षकसहित ६४ जनामा संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ड डा. मदन उपाध्यायले बताए ।

संक्रमण पुष्टि भएपछि सांसद यादव, वीरगन्ज १३ राधेमाइ टोलस्थित आफनै घरको होम आइसोलेसनमा छन् । सामान्य खोकी लागेपछि शुक्रबार दिउँसो सांसद यादवले नारायणी अस्पतालमा पुगेर आफूसहित सवारी चालक र अंगरक्षक पुगेर स्वाब संकलन गरिएको थियो ।

प्रयोगशालाबाट शुक्रबार राति प्राप्त रिपोर्टमा आफूसहित सवारी चालक र अंगरक्षकको पनि पिसिआर रिपोर्ट पोजेटिभ आएको सांसद यादवले बताए ।

उनले भने, ‘आफ्नै घरको होम आइसोलसनमा बसेका छु, ज्वरो छैन, सामान्य खोकी मात्र, आज बिहान देखि मात्र पखाला लागेको छ ।’

संक्रमित सवारी चालक र अंगरक्षकलाइ पनि आफ्नै घरको आइसोलेसनमा राखेको उनले जानकारी दिए । यसअघि बिहीबार राति वीरगन्ज महानगरपालिका नगरप्रमुख विजय सरावगीमा पनि संक्रमण पुष्टि भइसकेको छ । उनी काठमाडौंस्थित आफ्नै घरको होम आइसोलेसनमा छन् ।

अन्य संक्रमण पुष्टि भएका ६४ जनामध्ये ६१ जना पुरूष र ३ जना महिला रहेको नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट उपाध्यायले बताए । संक्रमित हुनेहरुमा १५ वर्षका बालकदेखि ६८ वर्षकी वृद्धा रहेका छन् । मेसु उपाध्यायका अनुसार शुक्रबार राति संक्रमण पुष्टि हुनेमा नारायणी अस्पतालका २ जना स्वास्थ्यकर्मी पनि छन् ।

मास ट्रेसिङमा पिसिआर जाँच गराएका ४५ जना, स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएका १० जना, कन्ट्याक्ट ट्रेसिङमा परेका ४ जना पनि संक्रमण पुष्टि भएको हो । वीरगन्ज मिनाबजारका २८ जना, वडा नम्बर २५ सिर्सियाका १० जना र वडा नम्बर ६ का १४, वडा नम्बर ८ का ६ जना, १ जना बारा र १ जना रौतहट लगायतका रहेका छन् ।

यो सँगै पर्सा जिल्लामा संक्रमितको संख्या ४ सय ६२ पुगेको छ । बिहिबार २० जना कोरोनालाई हराउँदै पूर्ण रुपमा निको भएपछि घर फर्केका छन । संक्रमणबाट नै ज्यान गुमाउँनेको संख्या दुईसाता यता मात्र ९ पुगेको छ, हाल जिल्लामा १३ जना संक्रमणबाट ज्यान गुमाई सकेको जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरले बताए ।

प्रतिक्रिया दिनुहोस्