बेलायतमा जारी लकडाउन अझै दुई साता नखुल्ने



एजेन्सी : बेलायतमा जारी लकडाउन कम्तीमा अझै दुई साता नखुल्ने भएको छ ।

कोरोनाभाइरस सङ्क्रमण बढेको पाइएपछि अगस्ट १ तारिख अर्थात् आजदेखि खोल्ने भनिएका क्षेत्रहरू कम्तीमा अझै दुई हप्तापछि सारिएको छ।

प्रधानमन्त्री बोरिस जोनसनले अहिले ‘साइकलमा ब्रेक लगाउनुपर्ने बेला आएको’ बताएका छन् भने क्यासिनो र बावलिङ खेलस्थलहरू बन्द नै रहने उल्लेख गरिएको छ ।

इङ्गल्यान्डका प्रमुख मेडिकल अफिशर प्राध्यापक क्रिश ह्वीटीले डाउनिङ स्ट्रीटमा प्रधानमन्त्री जोनसनलाई सबै क्षेत्र खुला गरे संक्रमण अझ भयावह अवस्थामा पुग्ने चेतावनी दिएको बीबीसीले जनाएको छ ।

राष्ट्रिय तथ्याङ्क विभाग (ओएनस)ले शुक्रवार जारी गरेको तथ्याङ्क अनुसार बेलायतमा एक हप्ताअघि प्रतिदिन ३ हजार २०० जनामा सङ्क्रमण पुष्टि हुने गरेकोमा यो हप्ता प्रतिदिन करिब एक हजारले बढेर ४ हजार २०० जति पुगेको छ।

बेलायतमा अहिलेसम्म कोरोनाभाइरसले ४६ हजार ११९ जनाको मृत्यु भइसकेको छ भने ३ लाख १८१ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्