कानून निर्माताले नै कानूनको धज्जिया उडाएपछि…



जनकपुरधामः कोरोना भाइरसको रोकथाम एवं नियन्त्रणमा मास्क तथा भौतिक,सामाजिक दूरी सहयोगी बनेको तथ्य सर्वविदित नै छ । साथै १ मिटर अर्थात ३ फिटको सामाजिक दूरीले सोही अनुसार काम गर्छ भने २ मिटर अर्थात ६ फिटको दूरीले त्यो भन्दा राम्रो काम गर्ने गरेको विश्व स्वास्थ्य संगठनको दाबी छ ।

कोरोना रोकथाम एवं नियन्त्रणका लागि मास्क र सामाजिक दूरीले ठुलो सहयोग पुर्याउने बिभिन्न ४४ वटा अध्ययनमा पत्ता लगाइएको छ । यदि सामाजिक दूरी कायम गर्न नसकिने स्थान छ भने त्यहाँ उपस्थित प्रत्येक मानिसले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नितान्त आवश्यकता रहेको विश्व स्वास्थ्य संगठनको ठहर छ । तर तलको तस्बिर एकचोटी राम्ररी नियालेर हेर्नुस त । के देख्नुभयो र देखेर के छुट्टयाउनुभयो ? तस्बिर हो, शुक्रबार महोत्तरीको भङ्गहा नगरपालिका वडा नम्बर–६ हत्तिसर्वामा नगरप्रमुख संजिव कुमार साहद्धारा श्री हत्तलेश्वरनाथ महादेव मन्दिरको नवनिर्मित भवनको उदघाटन समारोहको । तस्बिरमा कति जनाले मास्क लगाएको र सामाजिक दूरीको पालना गरेको हेर्नुभयो ? जबकि यस महामारी बिरुद्धको लडाइमा हालसम्मकै सबैभन्दा कामलाग्दा उपाय मध्ये पनि सबैभन्दा प्रभावकारी भनेकै सामाजिक दूरीको पालना र मास्कको अनिवार्य प्रयोग नै रहेको छ । तर तपाईंलाई यी तस्बिरहरुलाई हेरेर लाग्दैन कि मास्क लगाउनै पर्ने स्थानमा पनि मास्क नलगाई वहाँहरुले कोरोनाको संक्रमणलाई खुला निम्तो दिंदै हुनुहुन्छ ? गृह मन्त्रालयले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दूरी कायम नगर्ने र मास्क नलगाउने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गर्न निर्देशन समेत दिइसकेको छ । तर स्वयं स्थानीय सरकारका प्रमुख जिम्मेवार पदाधिकारीले नै यस्ता नियमको धज्जिया उडाउँछन् भने सर्वसाधारण जनतासँग के आश ? होईन् र ? वहाँहरुले सामान्य मास्क पनि प्रयोग नगरी कोरोना महामारीमा थप जोखिम उत्पन्न गर्ने काम गरेको हो कि होईन् ?

बिहीबार राती वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी र शुक्रबार राती पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदिप यादव समेत कोरोना संक्रमणको चपेटामा परिसकेका छन् । समाचार तयार पार्दासम्म प्रदेश २ मा मात्रै संक्रमितको संख्या ४ हजार ६ सय ७३ पुगिसकेको छ भने २० जनाको मृत्यु समेत भइसकेको छ । यस संकटपूर्ण अवस्थामा कोरोना रोकथाम र नियन्त्रणका लागि केन्द्र,प्रदेश र स्थानीय सरकारको भूमिका प्रभावकारी हुनुपर्नेमा उल्टै सरकारकै तर्फबाट यसको पालना नहुनु दुःखद रहेको जनकपुरधाम–४ का स्थानीय रमेश प्रसाद अधिकारीले बताए ।

उनले भने,‘महोत्तरीको जलेश्वरमा हिजैदेखि निषेधाज्ञा लगाइएको छ । तर,महोत्तरीकै अर्का पालिकाका प्रमुखले नै सामाजिक दूरीको समेत पालना नगर्नु एकदमै दुःखद छ ।’ मास्क नलगाएको र सामाजिक दूरीको पालना नगरेको भन्दै महोत्तरीमा अहिलेसम्म करिव ६ हजार मानिसलाई समातेर प्रहरीले जरिवाना तिराई छाडिसकेको छ । तर, वहाँ भङ्गहा नगरपालिकाका मेयर संजिव जीलाई कसले कारवाही गर्ने ? उनको प्रश्न थियो ।

प्रतिक्रिया दिनुहोस्