प्रदेश २: मन्त्रीहरुकै आतिथ्यमा सभा सम्मेलन



जनकपुरधामः सरकारले साउन ७ गतेदेखि लकडाउन हटाएपनि सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, सैलुन, ब्युटीपार्लर र स्पा, स्विमिङ पुल, जिमखाना, हेल्थ क्लब, खेल मैदानमा हुने प्रस्तुति, धार्मिक, सामाजिक स्थल, पुस्तकालय, संग्रहालय, चिडियाखाना, सभा, गोष्ठी, तालिम, सेमिनार प्रदर्शन, मेला एवं सम्मेलनमा अझैपनि रोक लगाएकै छ । तर, प्रदेश २ सरकारका मन्त्रीहरुकै आतिथ्यमा सभा सम्मेलनको आयोजना गरेर कोरोना फैलाउने कार्य भईरहेको देखिएको छ ।

सरकारले सार्वजनिक कार्यक्रमहरु नगर्न पटक पटक सचेत गराईरहेका बेला प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री र आर्थिक मामिला तथा योजना मन्त्री सहित प्रदेश सांसदहरुको आतिथ्यमा हजारौंको सहभागितामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको हो ।
प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव र आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवको प्रमुख आतिथ्यमा धनुषाको धनषाधाम नगरपालिकामा हजारौंको सहभागितामा सामाजिक दूरीको कुनै पालना नगरि मापदण्ड विपरीत पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको हो ।

समुदायमा कोरोना फैलिसकेको अवस्थामा प्रदेशका मन्त्री र सांसदहरुको आथित्यमा नै यसरी हजारौंको भीड जुटाएर कोरोना भाइरस रोकथाम एवं नियन्त्रण मापदण्डको धज्जी उडाउंदै सार्वजनिक कार्यक्रम गर्नु भनेको प्रदेश सरकारद्धारा नै कोरोना संक्रमण फैलाउने कार्य भइरहेको जनकपुरका स्थानीयको बुझाई छ ।

समुदायमा कोरोना संक्रमण फैलिसकेको कारण वीरगञ्ज, राजविराज, जनकपुर सहितका प्रदेशका मुख्य शहरी बस्ती आक्रान्त र त्रसित बनेका छन । यस्तो अवस्थामा मन्त्री र सांसद जस्ता व्यक्तिले पार्टीका कार्यक्रमका लागि आम जनताको ज्यान जोखिममा पार्ने काम गर्नु निन्दनीय रहेको जनकपुरका स्थानीय युवा श्याम साहले बताए ।

धनुषाधाममा मात्रै नभई दुई दिनअघि समेत प्रदेशका सिरहा जिल्लामा पार्टीका अध्यक्ष एवं पूर्व स्वास्थ्य मन्त्री उपेन्द्र यादव र वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आतिथ्यमा समेत हजारौंको सहभागितामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको थियो ।

जसपा पार्टीबाट आबद्ध संघीय सांसद प्रदीप यादव र विरगञ्जका मेयर विजय सरावगी समेत कोरोना संक्रमित भइसकेको अवस्थामा जनचेतना फैलाउनुको सट्टा जसपा पार्टी र ती पार्टीसँग आबद्ध मन्त्री तथा सांसदहरुले कोरोना संक्रमण निम्त्याउने काम गर्दै आएको प्रष्ट बुझिन्छ ।
हजारौं सहभागिको भीडमा आयोजित सो कार्यक्रममा एकजनामा पनि कोरोना संक्रमण रहेको खण्डमा कति जनालाई लागिसकेको होला अनुमान गर्न सकिदैन ।

यस्तो संक्रमणकालिन परिस्थितिमा जनतालाई जोगाउन पीसीआर चेकजाँच, आइसोलेशन, भेन्टीलेटर व्यवस्थापन र जनचेतना फैलाउनुको सट्टा जसपा नेतृत्वको प्रदेश सरकारका मन्त्रीहरु नै पार्टी प्रवेशको नाममा संक्रमणलाई झन निम्तो दिइरहेको प्रष्ट देखिन्छ ।

प्रदेश २ मा समाचार तयार पार्दासम्म सामाजिक विकास मन्त्रालयको तथ्याङ्कको हिसाबले रौतहटमा १ हजार २ सय ५६ जना, महोत्तरीमा ७ सय ८९ जना, सर्लाहीमा ७ सय ९ जना, धनुषामा ६ सय ६५ जना, सप्तरीमा ४ सय ६६ जना, पर्सामा ४ सय ५ जना, सिरहामा २ सय १० जना र बारामा १ सय ७३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्