वीरगन्जः वीरगन्जको वयोधा हस्पिटलमा उपचार गराइरहेकी एक महिलाको कोरोनाका कारण मृत्युु भएको पुष्टि भएको छ ।
५० वर्षीय ती महिला वीरगन्ज महानगरपालिका वडा नं.१६ की हुन् । गत बुधबार वीरगन्जको गण्डकमा रहेको बयोधा अस्पतालमा उपचारका लागि उनलाई भर्ना गरिएको थियो ।
हिजो (शुक्रबार) बिहान १०ः १२ मिनेटमा ती महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । उनमा उच्च रक्तचाप, मधुमेय र तीव्र श्वासप्रश्वासको समस्या रहेको चिकित्सकहरुले बताएका छन् ।
लक्षण सबै मिलेपछि त्यहाँका चिकित्सकले कोरोना परीक्षणका लागि नारायणी अस्पताललाई अनुरोध गरेका थिए । त्यसपछि ती महिलाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो । नारायणी अस्पतालको कोभिड विशेष अस्पताल गण्डकका डा.निरज सिंहले बताए ।
उनको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । योसहित पर्सामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । वयोधा हस्पिटलमा यसअघि पवन पटवारी र कलावती देवीमा कोरोना पोजेटिभ भएको देखिएपछि नारायणी अस्पतालमै भर्ना गरी उपचार भएको जनाइएको छ ।