प्रहरी भारतीय नागरिकबाट रकम असुल्दै, बिना परीक्षण नेपाल भित्रयाउँदै



धनगढी : कैलालीको धनगढीस्थित त्रिनगर नाकामा प्रहरीलाई ५ हजार तिरेर भारतियहरु नेपाल प्रवेश गर्ने गरेका छन् ।

सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि झण्डै ४ महिनादेखि लकडाउन जारी गरी देशको प्रमुख सीमानाकाहरु बन्द गरेको छ तर प्रहरीको भनसुन भने जारी छ ।

सीमा नाका बन्द भएपनि भारतमा कोरोना महामारीपछि विचल्लीमा परेका नेपालीको सरकारले उद्दार गरेको थियो । अहिले पनि उक्त क्रम जारी छ ।

भारतबाट आउनेहरु अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम भएपनि कैलालीमा भने सुरक्षा निकायकै संरक्षणमा सीमा नाकाबाट धमाधम भारतीय नागरिक नेपाल भित्रिरहेका छन् । उनीहरु क्वारेन्टिनमा नबसेर पेशा व्यवसायमा लागेपछि जोखिम बढेको स्थानियको भनाइ छ ।

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा विभिन्न उद्योग, ग्यारेज, वार्कसप तथा कपाल काट्ने पसलमा काम गर्दै आएका भारतीय नागरिकबाट रकम असुलेर परीक्षण बिना भित्रयाउने गरेको पाइएको छ ।

भारतको पलिया घर भई धनगढीको ग्यारेजमा काम गर्दै आएका एक भारतीय नागरिकले सीमामा खटिएका प्रहरी र सशस्त्र प्रहरीलाई ५ हजार तिरेर नेपाल फर्किएको बताए ।

उनले नाम उल्लेख नगर्ने शर्तमा भने,‘पहिले क्वारेन्टिनमा बस्छु भन्दा पनि सीमानाकाबाट प्रहरीले आउन दिएन, रुपैँया दियो भने मात्र जान पाईन्छ भन्ने सुने, सीमामा खटिएका प्रहरी र सशस्त्र प्रहरीलाई ५ हजार तिरेपछि सहजै धनगढी आए ।’ उनले अरु पनि यसरी नै आईरहेको बताए ।

लकडाउनमा ग्यारेज तथा वार्कसप बन्द भएपछि भारत फर्किएका उनीहरु खुलेसँगै फर्किरहेका छन् । प्रहरीले नै रकम असुलेर भारतीय नागरिकलाई प्रवेश गराउन थालेपछि कोरोनाको जोखिम धनगढीमा झन बढेको हो ।

भारतबाट फर्किनेलाई अनिवार्य क्वारेन्टिनमा राखेर कोरोना परीक्षण गर्नुपर्ने बेलामा प्रहरीले नै रकम असुल्नमा व्यस्त भएपछि जोखिम बढेको छ । सीमामा रकम असुली गरी प्रवेश गर्न दिएको विषयमा प्रतिक्रिया लिन कैलालीका प्रमुख प्रहरी उपरिक्षक अनुपम शमशेर जबरालाई सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरा भने अहिले सीमानाका बन्द भएकाले नेपाल प्रवेश गर्न नदिएको बताए । उनले नेपाल प्रहरी र सशस्त्र प्रहरीले रकम असुली गरेर प्रवेश दिएको विषयमा बुझेर आवश्यक निर्देशन दिने बताए ।

प्रतिक्रिया दिनुहोस्