अनशनरत युवाको माग सम्बोधन गर्न देउवाको आग्रह



काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वसन्तपुरमा अनशनरत युवाको माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।

शतप्रतिशत पीसीआर परीक्षणको माग राख्दै १५ दिनदेखि अनशनरत ‘इनफ इज इनफ’ का अभियन्तालाई आज (शनिबार) वसन्तपुरमा भेटेर उनले अनशनकारीको माग सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताए ।

‘अनशनकारीको मागप्रति हाम्रो पार्टीको ऐक्यबद्धता छ, मान्छेलाई मर्न दिन हुँदैन, वर्तमान सरकारले तुरुन्तै आफ्नो मान्छे पठाएर अनशनमा बसेका युवालाई बचाउनुपर्छ’, उनले भने, ‘सरकारले शान्तिपूर्ण आन्दोलनकारी माथि धरपकड गर्न खोजेको छ, म यसको घोर भत्र्सना गर्छु ।’ प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका देउवाले सरकार जनताको स्वास्थ्यमाथि गम्भीर हुनुपर्ने उल्लेख गरे ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले १५ दिनदेखि अनशनमा बस्दै आएका युवाले उठाउँदै आएको माग देश र जनताको हितमा रहेको बताए । ‘सरकारले आफ्ना प्रतिनिधि पठाएर मागलाई तत्काल सम्बोधन गर्नुपर्छ’, उनले भने । यसअघि कांग्रेस नेता प्रकाशमान सिंह, पूर्वमन्त्री नविन्द्रराज जोशीलगायतले अनशनरत युवालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

शतप्रतिशत पीसीआर परीक्षण हुनुपर्ने, क्वारेन्टिनको अवस्था सुधार गर्नुपर्नेलगायतका माग राख्दै आएका अभियन्तासँग सरकारले गत असार २३ गते लिखित प्रतिबद्धता जनाए पनि अहिलेसम्म कार्यान्वयन नभएको अनशनकारीको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्