फुटबलकी ‘हीरा’



विराटनगर : उनी कहिलेकाहीँ फुटबल खेल्थिन् तर केटाहरूसँग । गाउँमा फुटबल खेल्ने केटी अरू थिएनन् । बजार -कटारी) मा भने केटीहरू फुटबल खेल्छन् भन्ने उनले सुनेकी थिइन् । तिनैसँग प्रतिस्पर्धा गर्न उनले केटीको छुट्टै टिम बनाउने सोचिन् ।

गाउँका केटी जम्मा पारिन् । उदयपुर, भोर्लेस्थित सरस्वती माविको मैदानमा नियमित अभ्यास चल्न थाल्यो। त्यस बेला १४ वर्षकी हिराकुमारी भुजेल आफैं साथीहरूलाई खेल सिकाउँथिन्। छोरी मान्छे पनि फुटबल खेल्ने? लाज हुँदैन?' धेरैले उनलाई भन्थे। 'भागेर, लुकेर भए पनि केटाहरूसँगै खेलिरहेँ,' उनले सुनाइन्।

हिराले भोर्लेमा २०-२२ जना केटी तयार पारे पनि बल थिएन। 'स्कुलमा ब्लाडर फुटेको बलको छाला थियो। ३५ रुपैयाँ जम्मा पारेर ब्लाडर किन्यौं र बल तयार पारेर खेल्न थाल्यौं,' उनले सम्भिmइन्। त्यसअघि उनी मोजा र प्लास्टिकको बल खेल्थिन्। त्यो पनि खाली खुट्टै। प|mक लगाएर। उनी भन्छिन्, 'कहिलेकाहीँ डोरी र प्लास्टिकले बाँधेरै भए पनि कामचलाउ बल बनाएर खेल्थ्यौं।'

हिराले बजारको टिमविरुद्ध खेल्ने भने पाइनन्। राम्रो खेल्न थालेपछि उनलाई बजारकै टिमले खेल्न बोलायो। त्यहाँ राम्रो गरेपछि धनुषा जिल्लाको टिममा पुगिन्। २०६८ सालको छैटौं राष्ट्रिय खेलकुदमा मध्यमाञ्चलको टिमबाट खेलिन्।

उनको करिअरले उचाइ लिन थालेपछि गाउँमा केटीहरूको टिम भने टुटदै गयो। उनी भने २०७० सालमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा पुगिन्। तीन वर्षअघि राष्ट्रिय टिममै छानिइन्। उनी अहिले नेपाली राष्ट्रिय महिला फुटबल टिमकी बहुमूल्य रत्न 'हिरा' बनेकी छन्।

रक्षापंक्तिमा बाँया क्षेत्रबाट खेल्ने उनले सहिद मैदान, विराटनगरमा भइरहेको पाँचौं साफ वुमेन्स च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरिरहेकी छन्। तीनपल्टको उपविजेता नेपाली टिम भुटान र बंगलादेशलाई समान ३-० ले हराएर समूह 'ए' मा पहिलो भयो। पहिलोपल्ट साफ च्याम्पियन बन्ने दाउमा रहेको नेपालले बुधबार हुने सेमिफाइनलमा श्रीलंकाविरुद्ध खेल्नेछ। आजकाे कान्तिपुरले लेखेकाे छ।

प्रतिक्रिया दिनुहोस्