
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार डा. राजन भट्टराईले नेपालमा पीसीआर परीक्षण पर्याप्त भइरहेको बताएका छन् ।
नेपालमा पीसीआर परीक्षण पर्याप्त नभएको भन्दै चौतर्फि आलोचना भइरहेको बेला प्रधानमन्त्री ओलीका सल्लाहकार डा. भट्टराईले भने पीसीआर पर्याप्त भइरहेको दाबी गरेका हुन् ।
पत्रकारसँगको कुराकानीमा सरकारलाई आलोचना गर्नका लागि बोल्नेहरुले मात्रै परीक्षण पर्याप्त नभएको भन्ने गरेको तर्क गरेको उनले भनाइ छ । साथै उनले अन्य देशको तुलनामा नेपालमा पीसीआर परीक्षणको अनुपात धेरै रहेको दाबी समेत गरे ।
‘अन्य देशको जनसंख्याको अनुपातमा त्यहाँको परीक्षणको संख्या निकै कम छ, तर नेपालमा निकै धेरै भइसकेको छ,’ उनले भने ।
अझै पनि कम परीक्षण भयो भन्नेहरुलाई उनले नबुझेका व्यक्ति वा सरकारप्रति पुर्वाग्रही व्यक्तिको संज्ञा दिएका छन् ।
यता चिकित्सक तथा विज्ञहरुले भने पीसीआर परीक्षणको दायर झै बढाउनु पर्नेमा जोड दिएका छन् भने सरकारले खुम्च्याउदै लगेको बताउने गरेका छन् ।
नेपालमा कोरोनबाट मृत्यु हुनेको संख्या अन्य देशको तुलनामा निकै कम भएको र नेपालमा सबै कोरोनाकै मृत्यु नभएको बताउँदै सल्लाहकार भट्टरँईले प्रदेशहरुमा आइसोलेसन सेन्टरहरु धमाधम खाली भएकाले चिन्ता मान्नु पर्ने वा आत्तिनु पर्ने कुनै अवस्था नरहेको बताए ।
यसैगरी पीसीआर परीक्षण बनाउनु पर्ने, कोरोना नियन्त्रणका लागि सरकारले थप कदम र सक्रियता बढाउनु पर्ने, जिम्मेबार हुनु पर्ने, भ्रष्टाचारको छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने लगायतका माग राख्दै भइरहेको आन्दोलनलाई उनले अनावश्यक रुपमा उचाल्ने प्रयासका रुपमा व्याख्या गरे ।
उनले एनफ इस एनफ आन्दोलनप्रति लक्षित गर्दै उनले सरकारलाई बदनाम गर्ने नियतले केही पात्र र समूहलाई उचाल्ने काम समेत भइरहेको बताएका छन् ।
प्रकाशित : साउन १८, २०७७