मटिहानीमा झुलनोत्सवको रौनक




जलेश्वर : महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–७ मा अवस्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा परम्परागतरुपमा मनाइँदै आएको पौराणिक झुलनोत्सव पर्वको रौनक छाएको छ । पन्ध्र दिन पहिलेदेखि जनैपूर्णिमाको दिनसम्म मनाइने झुलनोत्सवका अवसरमा लक्ष्मीनारायण मठ मटिहानीबाट प्रत्येक दिन कलात्मक पालिकमा बाजागाजाका साथ भगवान् राम र सीताको मूर्ति राखी भजनकीर्तन गर्दै झुलाघरमा लैजाने गरिन्छ ।

महोत्तरीको लक्ष्मीनारायण मठ, जनकपुरधाम, सर्लाही, सिरहा, सप्तरी र भारतको तिरहुत क्षेत्र बिहारका विभिन्न मठमन्दिरमा झुला पर्व धुमधामका साथ मनाइने परम्परा छ । झुलाघरमा राम र सीताको मूर्ति राखी धार्मिक गीत र भजन कीर्तनका साथ राति अबेरसम्म झुला झुलाउने गरिएको लक्ष्मीनारायण मठ मटिहानीका मानमहन्थ जगन्ननाथदास वैष्णवले बताए ।

भगवान् राम र सीता साउन महिनामा यसैगरी झुला झुलेको सम्झना गर्दै झुलनोत्सव मनाइने गरिन्छ । सो झुलाका अवसरमा मटिहानीमा मेलाको समेत आयोजना गरिएको छ । मेला हेर्न तथा भगवान् राम र सीताको भुलनोत्सवमा सहभागी हुन नेपाल र भारतका श्रद्धालुको भीड लाग्ने गर्दछ । सांस्कृतिक परम्पराका रुपमा मनाइने यो पर्वमा झुलाका लागि सिंहासनको निर्माण गरी सजाइएको गद्दीमा रामसीता, लक्ष्मीनारायणलगायत मूर्ति बाजागाजाका साथ झुलाउने परम्परा छ ।

मिथिला क्षेत्रमा रोपाइँ सकिनेबित्तिकै झुला पर्वको रौनक शुरु हुन्छ । प्रत्येक मठमन्दिरमा कजरी र मलार जस्ता गीतको स्वरलहरी सुनिन्छ । झुलाका समयमा वरपरका श्रद्धालु जम्मा हुने, भजनकीर्तन गर्ने तथा नाचगान र रामलीला गरेर मध्यरातसम्म जाग्राम बस्ने चलन छ । झुला पर्व त्रेतायुगदेखि नै प्रारम्भ भएको मानिन्छ । जोगी र सन्न्यासीले आफ्ना आराध्य देवलाई झुलाउने परम्परा छ । बृन्दावनमा पनि झुला कृष्णलीलाका रुपमा मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्