एक हजारभन्दा बढीकाे ज्यान गएको आशंका



बीबीसी : मोजाम्बिकमा भीषण आँधीका कारण एक हजारभन्दा बढीको ज्यान गएको आशंका गरिएको छ। भीषण वर्षापछि आएको इडाई समुद्री आँधी परी उनीहरूको ज्यान गएको हो। आँधीले मोजाम्बिकमा मात्रै १ हजारभन्दा बढीको ज्यान गएको छ भने जिम्बाब्बे, मलाबी पनि त्यसको चपेटामा परेका छन्। 

मोजाम्बिकका राष्ट्रपति फिलिप नुसीले आँधीका कारण १ हजार बढीको ज्यान गएको आंशका गरिएको बताए। सोमबार प्रभावित क्षेत्रको हवाई भ्रमण गरेका नुसीले आँधीले विध्वंस मच्चाएको बताएका छन् । आफूले भ्रमणका क्रममा पानीमा तैरिरहेका शवहरू देखेको उनले बताएका छन् ।

बेयराका पाँच लाख मानिसको घर क्षतिग्रस्त भएको उद्धारमा खटिएका यूएन एडका एक कर्मचारीले बताए। उनका अनुसार बेयरामा कुनै पनि घरमा ठिक अवस्थामा छैन।

आँधीपछि त्यहाँ मानवीय संकट देखापरेका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार, कतिपय स्थानका मानिसहरूले रुखमा चढेर ज्यान जोगाएका छन्। बिहीबारदेखि नै आँधीले ताण्डव  मच्चाए पनि सहयोगकर्ताहरू भने निकै ढिलो गरी आइतबार मात्रै प्रभावित क्षेत्र पुगेका छन्।

बीबीसीका अनुसार, आँधीले बन्दरगाह सहर बेयरामा सबैभन्दा ठूलो क्षति पुगेको छ भने जिम्बाब्बे, मलाबी पनि  आँधीको चपेटामा परेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्