एक रातमै प्रमोद सावन्त बने गोवाको नयाँ मुख्यमन्त्री



गोवाः भारतको गोवामा प्रमोद सावन्त मुख्यमन्त्री बनेका छन् । मनोहर पर्रिकरको निधन भएपछि सावन्तलाई हिजाे राति पौने दुई बजे राजभवनमा सावन्तलाई मुख्यमन्त्रीको शपथ गराइएको हो । उनी यसअघि सभामुख थिए ।

सावन्त नेतृत्वको मन्त्रिपरिषदमा रहने अन्य ११ जनाले पनि मन्त्री पदको शपथ लिएका छन् । यसरी सपथ लिनेमा महाराष्ट्रवादी गोमान्तक पार्टीका विधायक सुधिन धवलिकर र गोवा फरवार्ड पार्टीका अध्यक्ष तथा विधायक विजय सरदेसाई समेत छन् ।

बाँकी मन्त्रीको शपथ लिनेहरु भने पर्रिकर नेतृत्वको मन्त्रिपरिषदका सदस्य नै छन् । नयाँ दुवै मन्त्रीलाई उपमुख्यमन्त्रीको पद दिन सक्ने अनुमान गरिएको छ । सोमबार मनोहर पर्रिकरको अन्तिम संस्कारपछि गोवामा राजनीतिक सरगर्मी बढेको थियो । आइतबार साँझ नै केन्द्रीय मन्त्री नितिन गडकरी गोवा पुगेका थिए ।

मंगलबार अबेर राति भाजपा र सहयोगी पार्टीका विधायक समर्थनपत्र लिएर राजभवन पुगेका थिए । पर्रिकरको निधनपछि संसदमा भाजपाको बहुमतलाई लिएर आशंका पैदा भएको थियो । तर सहयोगी पार्टी र स्वतन्त्र सांसद भाजपासँगै रहेपछि सावन्तले नयाँ मुख्यमन्त्रीको रुपमा सपथ लिएका हुन् ।

४० सिट रहेको गोवा विधानसभामा हाल ३६ विधायक मात्रै रहेका छन् । काँग्रेसका १४ र भाजपाका १२ सदस्य छन् । यस्तै एमजीपी र जीएफपीका समान ३–३ जना र स्वतन्त्र ३ जना सांसदको समर्थन पनि भाजपालाई मिलेको छ ।

गोवा विधानसभाको सबैभन्दा ठूलो पार्टी काँग्रेस हो । सोही कारण उसले एकलौटी सरकार बनाउन दिन राज्यपाल मृदुला सिन्हालाई चिठी लेखेर भाजपा सरकार भंग गर्न आग्रह गरेको थियो ।

शपथ ग्रहण समारोहमा जानुअघि प्रमोद सावन्तले आफूलाई पार्टीले ठूलो जिम्मेवारी दिएको र त्यसलाई मेहनत साथ पूरा गर्ने प्रतिबद्धता जनाएका थिए । उनले आफू अहिले भएको स्थानमा मनोहर पर्रिकरकै कारण रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्