काठमाडौंमा सङ्क्रमितको संख्या बढ्दा किन आत्तिनुपर्ने अवस्था ?



काठमाडौं : कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या प्रतिशतका हिसाबले देशभरिको तुलनामा राजधानी काठमाडौंमा त्यति धेरै नदेखिएको भए पनि स्वास्थ्य सङ्कट नआओस् भनेर निकै सजग हुनुपर्ने समय आएको सरकारी अधिकारीहरूले बताएका छन् ।

शनिवारसम्मको तथ्याङ्क हेर्दा देशभरि कोरोनाभाइरसबाट सङक्रमित हुनेको सङ्ख्या २० हजार ३ तीन सय ३२ पुगेको छ ।

एक दशकअघि गरिएको जनगणनामा उपत्यकमको जनसङ्ख्या २५ लाख देखिएको थियो । अहिले उल्लेख्य वृद्धि भएको स्थानमा शनिवारसम्म ५ सय ८१ सङ्क्रमित फेला परेका छन् ।

तीमध्ये ४ सयभन्दा बढीमा सक्रिय सङ्क्रमण भएको सरकारी तथ्याङ्क छ ।

खासगरी लकडाउन खुकुलो पारिएपछि सङ्क्रमण पुष्टि हुने क्रम हेर्दा सङ्ख्यामा उल्लेख्य वृद्धि हुनसक्ने जोखिम देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए ।

लकडाउन खुकुलो पार्नुभन्दा ११ दिनअघि (असार २७ गतेदेखि साउन ६ गतेसम्म) को विवरण हेर्दा झन्डै ४८ हजारको पीसीआर परीक्षण हुँदा १ हजार ३ सय ४५ मा सङ्क्रमण देखिएको थियो ।

तर, लकडाउन खुकुलो भएपछिको ११ दिन (साउन ७ गतेदेखि १७ गतेसम्म) को विवरण हेर्दा झन्डै ५८ हजार परीक्षणमध्ये २ हजा ९२ जनामा कोरोनाभाइरस देखियो ।

यसको अर्थ लकडाउन अघि र पछि संक्रमणको दर २.८ प्रतिशतबाट बढेर ३.६ प्रतिशत पुगेको बीबीसीले जनाएको छ ।

केही सातादेखि वीरगञ्ज र भारतसँग सीमा जोडिएका अन्य सहरहरूमा सङ्क्रमितको सङ्ख्या बढेको छ । काठमाडौंमा सङ्क्रमण व्यापक रूपमा फैलिन सक्ने र बिरामीको सङ्ख्या ह्वात्तै बढ्न सक्ने जोखिम भएको डा. अधिकारीले बीबीसीलाई जनाएका छन् ।

ठूलो जनघनत्व र मानिसहरूको निर्वाध आवतजावत भइरहेकाले त्यस्तो जोखिम भएको बताइन्छ ।

जनस्वास्थ्यविद् डा. सेनेन्द्रराज उप्रेतीले सङ्क्रमण देखिएका अन्य जिल्लाबाट मानिसहरू आउने क्रम जारी रहेको र भविष्यमा संक्रमित बढ्न सक्ने भएकाले काठमाडौं जोखिममा रहेको बताए ।

‘पछिल्लो समय काठमाडौं उपत्यकामा बाहिरबाट आएका मानिसहरूको भन्दा फरक तरिकाले कोभिड–१९ पोजेटिभ भएकाहरू देखेका छौँ । खासगरी त्यस्ता मानिसहरू नाकामा देखिरहेका छौँ । परीक्षण नभई काठमाडौं छिरेका मानिस पनि छन् र त्यस्ता मानिस ०.७ प्रतिशत छन् । ती व्यक्तिबाट पनि अरू मानिसलाई सरेको हुनसक्छ,’ डा. अधिकारी बीबीसीसँग भन्छन् ।

त्यसबाहेक समुदायमा गरिएको परीक्षणमा अन्यत्र यात्रा नगरेका मानिसमा पनि कोरोनाभाइरस देखिएकाले जोखिम धेरै रहेको ठानिएको उनले बताए ।

प्रकाशित : साउन १८, २०७७

प्रतिक्रिया दिनुहोस्