पछिल्लो एक वर्षमा नेपालभर २ हजार १४४ बलात्कारका घटना



काठमाडौं : आर्थिक वर्ष २०७६/०७७ मा देशभर ५ सय ५५ जनाको हत्या भएको छ भने २ हजार १ सय ४४ वटा बलात्कारसम्बन्धी घटना भएका छन् ।

नेपाल प्रहरीले आर्थिक वर्षभर देशमा घटेका घटनाको तथ्यांक तयार गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा देशभर ५ सय ५५ जनाको हत्या भएको छ । साथै ६ हजार २ सय ४१ जनाले आत्महत्या गरेका छन् भने २ हजार १ सय ४४ वटा बलात्कार सम्बन्धी घटना भएका छन् ।

प्रहरीमा दर्ता भएको रितपूर्वकको किटानी जाहेरीका आधारमा यो तथ्यांक तयार भएको हो ।
उपत्यकामा ३५, प्रदेश–१ मा १ सय १३, प्रदेश–२ मा १ सय ११, बागमती प्रदेशमा ८१, गण्डकी प्रदेशमा ४३, प्रदेश–५ मा ९३, कर्णाली प्रदेशमा २७ र सुदूरपश्चिम प्रदेशमा ५२ वटा हत्याका घटना भएका छन् ।

देशभर ज्यान मार्ने उद्योगसम्बन्धी ८ सय ६९ घटना भएको तथ्यांकमा उल्लेख छ । यसैगरी भवितव्य भएर ज्यान गुमाउनेको संख्या चार हजार २ सय रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष ०७६/०७७ मा काठमाडौं उत्पयकामा मात्रै ५ सय ४६ जनाले आत्महत्या गरेका छन् ।

त्यस्तै प्रदेश–१ मा एक हजार ३ सय ३७, प्रदेश–२ मा ८ सय ८, बागमती प्रदेशमा ९ सय २९, गण्डकी प्रदेशमा पाँच सय ९०, प्रदेश–५ मा १ हजार २ सय १, कर्णाली प्रदेशमा २ सय ८६ र सुदूरपश्चिम प्रदेशमा पाँच सय ४४ जनाले आत्महत्या गरेका छन् । देशभर एक सय ३८ वटा आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दा दर्ता भएको तथ्यांकले जनाएको छ ।

आर्थिक वर्ष ०७६/०७७ मा प्रदेश १ मा सबैभन्दा धेरै बलात्कारको घटना भएको प्रहरीले तयार परेको तथ्यांकमा उल्ले गरिएको छ ।

प्रदेश १ मा एक वर्षमा चार सय ८५ बलात्कारका घटना भएको छ । यसैगरि उपत्यकामा २ सय ६६, प्रदेश–२ मा २ सय ८८, बागमती प्रदेशमा २ सय ५६, गण्डकी प्रदेशमा एक सय ६१, प्रदेश–५ मा ३ सय ४८, कर्णाली प्रदेशमा एकसय ३९ र सुदूरपश्चिम प्रदेशमा २ सय वटा बलात्कारसम्बन्धी घटना भएको छ । देशभर ६ सय ८७ वटा मुद्दा बलात्कार प्रयाससँग सम्बन्धी दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बहुविवाहका सात सय ३४ र वाल विवाहका ६४ मुद्दा दर्ता भएका छन् । लागूऔषध सम्बन्धि देशभर २ हजार ८ सय ८५ मुद्दा दर्ता भएका छन् । उपत्यकामा चार सय २, प्रदेश–१ मा पाँच सय २९, प्रदेश–२ मा ६ सय ३८, बागमती प्रदेशमा २ सय ७०, गण्डकी प्रदेशमा २ सय ९१, प्रदेश–५ मा चार सय ९४, कर्णाली प्रदेशमा ९० र सुदूरपश्चिम प्रदेशमा एक सय ७१ वटा मुद्दा लागूऔषध सम्बन्धी छन् ।

वर्षभर दर्ता भएका सबैभन्दा बढी मुद्दा सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको अपराध सम्बन्धी छन् । यो मुद्दाको संख्या ९ जहार पाँच सय १७ छ । सार्वजनिक शान्ती बिरुद्धको अपराध सम्बन्धी मुद्दाको संख्या एक हजार पाँच सय ६० छ । कमजोर कसुर मानिने यी दुवै मुद्दा ‘सार्वजनिक मुद्दा’का रुपमा पनि चिनिन्छन् जसको सुनुवाई जिल्ला प्रशासन प्रमुखले गर्छन् ।

प्रकाशित : साउन १८, २०७७

प्रतिक्रिया दिनुहोस्