पोखरा पर्यटन क्षेत्रका २५ प्रतिशत मजदुर काममा फिर्ता



पोखरा : लामो समयको बन्दाबन्दीपछि सुस्ताएको पोखराको पर्यटन विस्तारै तङ्ग्रिन थाल्दैछ । चार महिनाको बन्दाबन्दीपछि विस्तारै सञ्चालनमा आउन थालेको पर्यटन व्यवसायले यहाँको चहलपहल बढाउनुको साथै मानिसहरूलाई आशा दिलाएको छ ।

पर्यटनसँग सम्बद्ध व्यवसायहरू खुलेसँगै त्यहाँ कार्यरत झण्डै २५ प्रतिशत मजदूर काममा फर्किएका छन् । सरकारले साउन १५ गतेदेखि पर्यटन क्षेत्र सञ्चालनको अनुमति दिएसँगै पर्यटन सम्बद्ध विभिन्न क्षेत्रमा आबद्ध मजदूर रोजगारीका लागि फर्किएको पोखरा पर्यटन परिषद्ले जनाएको छ ।

परिषद्का उपाध्यक्ष गोपी भट्टराईले भट्टराईले भने, “लामो समयको बन्दाबन्दीपछि पर्यटन व्यवसाय सञ्चालनमा आएको छ । अहिले व्यावसायिकरुपमा भन्दा पनि होटलको आन्तरिक व्यवस्थापनलगायतका कामका लागि होटल रेस्टुराँ, ट्रेकिङ सप, ट्राभल खोलिएका छन् । सञ्चालनको प्रारम्भिक अवस्था भएकाले अहिले २५ प्रतिशत कर्मचारी मात्र रोजगारीमा फर्कने वातावरण बनेको छ ।”

उनले व्यवसायले गति लिन थालेपछि विस्तारै सबै पर्यटन मजदूर पूर्ववत्रुपमा कार्यक्षेत्रमा आउने विश्वास व्यक्त गरे । भट्टराईका अनुसार पोखरामा पर्यटन क्षेत्र सम्बद्ध होटल तथा रिसोर्ट, रेस्टुराँ तथा बार, ट्रेकिङ ट्राभल्स एजेन्सी, प्याराग्लाइडिङ तथा अल्ट्रालाइट, ट्रेकिङ इक्युपमेन्ट शप, इम्ब्रोइयरी एण्ड गार्मेन्ट शप, पर्यटक यातायात व्यवसायी, भिटोफलगायतमा गरेर करिब ३० हजारले रोजगारी पाएका छन् ।

पोखरामा ७०० होटल, १०० रेस्टुराँ एण्ड बार, १५९ टे«किङ एजेन्सी, १८१ वटा ट्राभल्स, ६८ वटा प्याराग्लाइडिङ, ११५ वटा ट्रेकिङ इक्युपमेन्ट शप, ७५ वटा इम्ब्रोइडरी एण्ड गारमेन्ट शप र ८६ वटा पर्यटक यातायात व्यवसायी रहेका छन् । यस क्षेत्रमा खर्बौंको लगानी रहेको छ । पोखराका ७०० होटल तथा रेस्टुराँमा मात्रै १२ हजार १९८ ले रोजगारी पाएका छन् ।

भट्टराईले पर्यटनलाई गतिशील बनाउन पूर्वाधार विकासलाई पनि जोड दिनुपर्ने बताउनुभयो । “अहिलेको समयमा पर्यटकमैत्री भौतिक संरचनामा सरकारले विशेष चासो दिएर काम गर्नुपर्छ । निजी क्षेत्र पनि सरकारलाई सघाउन तयार छ ।”

दियो बालेर उज्यालो

पोखराका पर्यटन व्यवसायीले कोभिड–१९ का कारण सुनसान र साँझ ७ बजेपछि हिँड्न पनि डराउनुपर्ने अवस्थामा अहिले सञ्चालन भएका होटल रेस्टुराँले अन्धकारमा दियो बालेर उज्यालो दिने प्रयास गरेको बताएका छन् । होटल माउन्ट कैलाशका सञ्चालक नरेश भट्टराईले भने, “कोभिड– १९ को असरले सुनसान र ७ बजेपछि हिँड्न पनि डराउनुपर्ने अवस्था थियो, सबैले साँझमै बत्ती निभाउथे, बाटोका बत्ती पनि अधिकांश वर्षायामका कारण बिग्रिएका छन् ।”

अहिले होटल रेस्टुराँ सञ्चालन हुँदा कम्तीमा होटलमा बत्ती बलेका छन् । राति १० बजेसम्म गाडी गुड्न थालेका छन् । यसले लेकसाइडको चहलपहलमा थोरै भए पनि रौनकता दिएको छ । उनले एक सय जना कर्मचारी रहेको होटलमा बन्दाबन्दीको समय जम्मा १५ जनालाई मात्रै रोजगार दिन सकेको बताए । होटल परिसरमा उम्रिएका झार, ढुङ्गामा लागेको लेउ, होटलका कोठा सफालगायत कामका लागि पनि कर्मचारी राख्नैपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

उनले होटल व्यावसायिकरुपमा सञ्चालन हुन नसक्दा होटलको ‘अपरेटिङ कस्ट’को खर्च मात्र मासिक रु तीन लाख ५० हजार रहेको बताए । “घाटा छ तर बन्द सधैँको समाधान होइन, त्यसैले विश्वस्वास्थ्य सङ्गठनको हेल्थ प्रोटोकललाई अपनाएर ‘हामी तयार छौँ भन्दै अघि बढेका छौँ’ स्वास्थ्य सतर्कता अपनाएर सेवा दिन तयार छौँ ।”

पश्चिमाञ्चल होटल सङ्घमा कोषाध्यक्ष एवं होटल ल्याण्डमार्कका सञ्चालक पार्वती पाण्डेले साउन १५ पछि होटल सञ्चालन भए पनि गेष्ट नहुँदा व्यवसायले गति लिन नसकेको बताए । उनले भने, “अहिले होटल सञ्चालन गर्दा गेष्ट छैनन्, होटल सञ्चालनको खर्च नै महङ्गो पर्न आउँछ, मर्मतसम्भार, कर्मचारी व्यवस्थापनमा बत्ती, पानीलगायतका कुराले गर्दा दैनिक आर्थिक भार थपिएको छ । मौद्रिक नीतिबाट कर्जा दिने सरकारको निर्णयको कार्यान्वयन छिटो हुनसके केही सहज हुने अपेक्षा गरेका छौँ ।” रासस

प्रतिक्रिया दिनुहोस्