उपचारका लागि ६ दिनमा संकलन गरिएको रकम कुन्दनलाई हस्तान्तरण



जनकपुरधाम : दुबै मृगौला फेल भएका राष्ट्रिय स्तरका क्रिकेट खेलाडी महोत्तरी फुलहट्टाका २५ बर्षिय कुन्दन सिंहलाई उपचारका लागि जनकपुरधामका युवाहरुले संकलन गरेको रकम आज (आइतबार) उनलाई हस्तान्तरण गरिएको छ ।

कुन्दन सिंह बचाउ अभियानको नाम दिएर ६ दिन अघि अभियानको शुरुवात गरिएको थियो । सो अभियानमा जनकपुरधाम र काठमाण्डौका १ सय ४ जना मार्फत प्राप्त भएको ६ लाख ३८ हजार ६ सय ९६ र ई–सेवा तथा बैंक मार्फत प्राप्त भएको २३ हजार २ सय गरि कुल ६ लाख ६१ हजार ८ सय ९६ रुपैयाँ कुन्दनलाई हस्तान्तरण गरिएको हो ।

आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै जिल्ला क्रिकेट संघ धनुषाले सामाजिक सञ्जाल मार्फत ६ दिन अघि सबैसँग सहयोग मागेको थियो । जिल्ला क्रिकेट संघ धनुषाका उपाध्यक्ष शोभाकान्त पाण्डे नेतृत्वको टीमले कुन्दनको उपचारका लागि आर्थिक सहयोग गरिदिन सबैसँग आग्रह गरेको थियो ।

अहिलेसम्म जेनतेन गरी नियमित उपचार गराउँदै आएका कुन्दनलाई उपचारमा लाग्ने रकम ठुलो भएकोले आर्थिक संकट आइपरेपछि जनकपुरका युवाहरु उनको उपचारका लागि रकम संकलन गर्न सुरु गरेका थिए ।

No description available.

जिल्ला क्रिकेट संघ धनुषाका उपाध्यक्ष शोभाकान्तले भने,‘प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री महोत्तरीकै छन् । नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन सिंह पनि महोत्तरीकै हुन् । प्रदेश नम्बर २ का मुख्यन्यायाधिवक्ता पनि महोत्तरीकै छन् ।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव आफै पनि भलिवलको राष्ट्रीय खेलाडी रहिसकेका छन् । तरपनि कुन्दनलाई बचाउन कसैले कुनै चासो नलिएपछि आफुहरु आर्थिक सहयोगमा जुटेका थियौं ।’

प्रदेश सरकारले मृत्यु भईसकेका व्यक्तिको परिवारलाई ५ लाख रुपैयाँ बाँडेर परिवारलाई आश्वासन दिन्छ तर जिउँदो व्यक्तिलाई बचाउनका लागि कुनै सहयोग नगरेको उनको गुनासो थियो ।

No description available.

राष्ट्रिय स्तरको बिभिन्न घरेलू प्रतियोगिता खेलिसकेका क्रिकेट खेलाडी कुन्दनको किड्नी खराब भई उनी अहिले मृत्यूसंग लडिरहेका छन् । कुन्दनले भने,‘मेरो आमा बुवा पनी पहिल्यै नै स्वर्गवास भईसकेका छन् । अहिले म आर्थिक अभावका कारण मृत्यूको नजिक पुगिरहेको छु । यस्तो समयमा मेरो लागि यहाँका युवाहरुले गरेको सहयोग अतुलनिय छ । म किडनी ट्रान्सप्लान्टका लागि डोनर खोजिरहेको छु । यो पैसाले चाँडै म आफ्नो उपचार सुरु गराउँछु ।’

जिल्ला क्रिकेट संघ धनुषाका उपाध्यक्ष शोभाकान्त पाण्डे, नेपाल इन्जिनियर्स एसोसिएशन प्रदेश २ का सह–सचिव भवेश मिश्र, युवाहरु अनुष पाण्डेय, हरिशंकर साह, प्रेमचन्द्र राय, संजय लामा र आकाश पाण्डेयको नेतृत्वमा कुन्दन सिंह बचाउ अभियानको शुरुवात गरिएको थियो ।

उता,पोखरामा पनि सिभिल इन्जिनियर दोस्रो वर्षमा अध्ययनरत नेपाली क्रिकेटका समर्थक विज्ञान कार्कीको नेतृत्वमा ‘कुन्दन सिंह बचाउ अभियान’ चलाइएको छ । कार्कीले अहिलेसम्म झण्डै २ लाख रुपैयाँ सहयोग उठेको जानकारी दिए ।

कुन्दन १० वर्षको उमेरदेखि नै महोत्तरीको जलेश्वरबाट आफ्नो क्रिकेट यात्राको शुरुवात गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्