तत्कालीन एसपी डिल्ली विष्टद्वारा आत्मसमर्पण !



कैलाली : निर्मला हत्या घटनामा यातना र प्रमाण नष्ट गरेको कसुरमा मुद्दा चलाइएका तत्कालीन एसपी दिल्लीराज विष्ट अदालतमा हाजिर भएका छन्। उनी मंगलबार बिहान जिल्ला अदालत कञ्चनपुरमा हाजिर भएका हुन्। यसअघि अदालतले विष्ट र डीएसपी अंगुर जीसीलाई पक्रन पुर्जी जारी गरेको थियो। 

जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले विष्ट मात्र अदालतमा हाजिर भएको बताए। सोही कसुरमा मुद्दा लागेका अन्य ६ जना भने धरौटीमा छुटेका छन्। कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले अदालतमा उपस्थित ६ जनालाई धरौटीमा छाड्ने आदेश दिएकाे थियो। 

जिल्ला अदालतले यातना र प्रमाण नष्ट गरेको (सार्वजनिक न्यायविरुद्धको कसुर) आरोप लागेका तत्कालीन डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकेन्द्र खड्का, जगदीश भट्ट, सईहरू हरिसिंह धामी, रामसिंह धामी, प्रहरी जवान चाँदनी साउदलाई धरौटीमा छाड्ने आदेश दिएको थियाे। 

जिल्ला सरकारी वकिल कार्यालयले निर्मला घटनासम्बद्ध यातना र सार्वजनिक न्यायविरुद्धको मुद्दा जिल्ला अदालतमा दायर गरेको थियो। मुद्दा दायरपछि तत्कालीन एसपी डिल्लीराज विष्ट र डीएसपी अंगुर जीसीबाहेक ६ जना अदालतमा उपस्थित भएका थिए।

 

प्रतिक्रिया दिनुहोस्