भीषण आँधीमा हजारभन्दा बढीको मृत्यु, अरू अफ्रिकी देश प्रभावित



मोजाम्बिक : मोजाम्बिकमा आएको इडाई नामको समुद्री आँधीका कारण एक हजारभन्दा बढीको मृत्यु भएको छ । राष्ट्रपति फिलिपे नुसीले प्रतिघन्टा १ सय ७७ किलोमिटरको तिव्र वेगमा आएको आँधीले बन्दरगाह सहर बेयरामा सबैभन्दा बढी क्षति पुर्याएको जनाएका छन् ।

गत बिहीबारदेखि नै मोजाम्बिकमा ठूलो वर्षासहित आएको आँधीले क्षति पुर्याउन थालेको भएपनि सहायताकर्मीहरु आइतबारमात्र त्यहाँ पुगेका थिए । उद्दारकर्मीहरु पुगेपछि सो क्षेत्रमा भएको क्षतिको विवरण बाहिर आएको छ ।

आँधीका कारण अफ्रिकाका दक्षिणी क्षेत्रमा एक सय ८० जनाको मृत्यु भएको छ । बेयराको निरीक्षणपछि राष्ट्रपति नुसीले आँधीले ‘विध्वंस’ मच्चाएको बताएका छन् । हवाई निरीक्षणका क्रममा बाढीको भेलमा मानिसहरूको शव तैरिरहेको देखेको बताए । अन्तर्राष्ट्रिय रेडक्रस र रेड क्रिसेन्टले आँधीको भयानक प्रभाव परेको बताएका थिए ।

झन्डै पाँच लाख मानिस बसोवास गर्ने बेयरामा ९० प्रतिशत संरचना ध्वस्त भएको देखिएको छ । विश्व खाद्य कार्यक्रमका एक अधिकारीले आफूले बेयरामा आँधीले क्षति नपुर्याएको एउटा घर पनि फेला पार्न नसकेको बताएका छन् ।

सहरबाहिर झनै विकराल समस्या हुनसक्ने औल्याएका छन् । धेरै ठाउँमा बिजुली र सञ्चारसम्पर्क टुटेको छ । सडकहरू सहित धेरै ठाउँमा जमिन भासिएका कारण राहत कार्य झन् चुनौतीपूर्ण हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्