नेपालमा पहिलोपटक ‘प्लाज्मा थेरापी’मार्फत कोरोना संक्रमितको उपचार



काठमाडौं : विश्वव्यापी महामारीका रूपमा देखिएको कोरोना भाइरसको अहिलेसम्म औषधि पत्ता लागेको छैन । औषधिको विकल्पमा विश्वका कतिपय देशमा कोरोनाबाट निको भएका व्यक्तिहरूबाट प्लाज्मा निकालेर अर्को संक्रमित व्यक्तिमा राखेर पनि उपचार भइरहेको छ । नेपालमा पनि यो विधिको सुरुवात भएको छ । 

अमेरिका, बेलायत, भारतलगायतका देशमा कोरोनाको उपचारका लागि प्लाज्मा थेरापीको प्रयोग गरिन थालेको छ । देशमा कोरोना संक्रमित बिरामीमा प्लाज्मा थेरापी विधिले सकारात्मक नतिजा दिएको पाइएको छ । त्यसैलाई ध्यानमा राखेर नेपालमा पनि पहिलोपटक एक कोभिड संक्रमित चिकित्सकको ‘कन्भालेसेन्ट प्लाज्मा थेरापी’मार्फत उपचार गरिएको हो । 

विराट मेडिकल कलेजका सञ्चालक तथा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. ज्ञानेन्द्रमानसिंह कार्कीको कन्भालेसेन्ट प्लाज्मा थेरापीमार्फत उपचार गरिएको चिकित्सकहरूले बताएका छन् । उनी नेपालका पहिलोपटक ल्याप्रोस्कोपिक प्रविधिमार्फत शल्यक्रिया गर्ने चिकित्सक हुन् । उनले नै नेपालका चिकित्सक र अस्पतालहरूमा तालिम दिएर हाल अधिकांश शल्यक्रिया ल्याप्रोस्कोपिक प्रविधिमार्फत हुन थालेको छ । 

७ साउनमा कोरोना पोजेटिभ देखिएका डा. कार्कीलाई निमोनिया बढेपछि ९ साउनमा हेलिकोप्टरमार्फत विराटनगरबाट काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा ल्याइएको थियो । दैनिक स्वास्थ्य बिग्रँदै गएपछि उनलाई १५ साउनमा निको भइसकेका एक ककनीका २६ वर्षीय युवकले प्लाज्मा दिएका थिए । कन्भालेसेन्ट प्लाज्मा थेरापीमा कोरोनाबाट निको भएको व्यक्तिको प्लाज्मा संक्रमित व्यक्तिमा दिइन्छ । 

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका श्वासप्रश्वास रोग विशेषज्ञ डा. सन्तकुमार दासका अनुसार कन्भालेसेन्ट प्लाज्मा थेरापीपछि डा. कार्कीको स्वास्थ्यमा चामत्कारिक सुधार आएको छ । उनलाई आइतबार आइसियूबाट निकालिएको छ । श्वास–प्रश्वासमा समस्या देखिएपछि ६० वर्षीय डा. कार्कीलाई ७० प्रतिशत अक्सिजनको आवश्यकता परेको थियो । रातारात प्लाज्मा थेपारी गरेपछि अक्सिजनको मात्रा घटाएर अहिले २४ प्रतिशतमा झारिएको डा. दासले बताए । 

रगतमा रेड ब्लुड सेल (आरबिसी), प्लेटलेट्स र प्लाज्मा (लिक्विड) हुन्छ । दाताबाट रगत लिएर आरबिसी छुट्याइन्छ । त्यसपछि बाँकी रगतबाट प्लेटलेट्स पनि छुट्याइन्छ । बाँकी रहेको रगतको भागलाई प्लाज्मा भनिन्छ । त्यही प्लाज्मा संक्रमितको शरीरमा चढाइन्छ । कोरोना संक्रमित भएका डा. कार्कीको शरीरमा दुई सय एमएल प्लाज्मा चढाइएको हो । यसले कोरोनासँग लड्ने क्षमता विकास गर्ने चिकित्सकहरू बताउँछन् । 

डा. कार्कीलाई प्लाज्मा उपलब्ध गराउन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पहल गरेको थियो । परिषद्का अनुसन्धानविज्ञ डा. मेघराज धिमालका अनुसार हाल कोरोना निको भएका करिब १२ जनाले आवश्यक परे प्लाज्मा दिने वचन दिएका छन् । उनले यसरी प्लाज्मा दिँदा दुवैको रक्त समूह मिल्नुपर्छ । 

के हो कन्भालेसेन्ट प्लाज्मा थेरापी ? 

कन्भालेसेन्ट प्लाज्मा थेरापी रगतको प्लाज्मामा पाइने ‘एन्टिबडी’का आधारमा शरीरमा कुनै भाइरसविरुद्ध प्रतिरोध क्षमतालाई विकसित गर्ने प्रक्रिया हो । कुनै पनि भाइरस प्रवेश गरेपछि शरीर आफैँ त्यससँग लड्न थाल्छ र त्यसलाई समाप्त पार्न ‘एन्टिबडी’ बनाउँछ । ‘जब एन्टिबडीले भाइरसलाई समाप्त गर्न सफल हुन्छ, बिरामी पूर्ण रूपले निको हुन्छ,’ चिकित्सक भन्छन् । 

प्लाज्मा थेरापी पाएका डा. कार्की भन्छन्–पिसिआर परीक्षणको दायरा बढाउनुपर्छ 

यो समय निकै खराब छ । स्थानीय तहमा भएका क्वारेन्टाइनलाई व्यवस्थित गर्नुपर्छ । कसैले पनि सामान्य ठानेर मास्क, स्यानिटाइजरको प्रयोग गर्न छाड्नु उचित हुँदैन । आत्तिएर मात्रै यसको समस्या समाधान हुँदैन । कोरोना पत्ता लगाउने आरटी–पिसिआर परीक्षणको दायरा बढाउनुपर्छ । सरकारले विज्ञ चिकित्सकलाई भेला गराएर नियमित सुझाब लिने र सोहीअनुसार आफ्ना काम अगाडि बढाउनुपर्छ । म पनि निको भएर बाहिर आएपछि पूर्ण रूपमा सहयोग गर्छु । 

उपत्यका भित्रिन पूर्ण रूपमा प्रतिबन्ध लगाउनु अनिवार्य भएको छ । कोभिड देखियो भन्दैमा स्वास्थ्य संस्था, कार्यालय बन्द गर्नुहुँदैन । यसरी केस देखिँदैमा बन्द गर्दै जाने हो भने अबका केही दिनमा देशभरका सबै स्वास्थ्य संस्था बन्द हुन्छन् । त्यो समय कुनै नेपालीले सेवा पाउन सक्नेछैनन् ।

थपिए दुई सय ४६ संक्रमित

आइतबार मुलुकभर दुई सय ४६ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको जम्मा संख्या २० हजार तीन सय ३२ पुगेको छ । त्यस्तै, आइतबार एकजनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबारसम्म १४ हजार ६ सय तीनजना निको भएका छन् । अहिले देशभर पाँच हजार ६ सय ७२ संक्रमित आइसोलेसनमा छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार साँझ पर्साकी वृद्धाको कोरोनाबाट मृत्यु भएको हो । वीरगन्ज महानगरपालिका नगवाकी ६८ वर्षीया वृद्धालाई ज्वरो र निमोनिया भएपछि उपचारका लागि गत बुधबार अस्पताल भर्ना गरिएको थियो । 

निजी प्रयोगशालमा सरकारले तोकेभन्दा सस्तोमा परीक्षण

एक निजी प्रयोगशालाले सरकारले तोकेभन्दा एक हजार पाँच सय रुपैयाँ सस्तोमा पिसिआर परीक्षण गर्ने निर्णय लिएको छ । कुपन्डोलमा रहेको विध म्यानेजमेन्ट प्रालिद्वारा सञ्चालित कोभिड ल्याबले कोरोना परीक्षण शुल्क चार हजार तोकेको हो । यसअघि चार हजार पाँच सयमा परीक्षण गर्दै आएको थियो । सरकारले भने निजी स्वास्थ्य संस्थालाई पाँच हजार पाँच सय रुपैयाँ लिन अनुमति दिएको छ । 

सोमबारदेखि नै परीक्षण शुल्क घटाइएको प्रयोगशालाका प्रमुख बिके भण्डारीले बताए । ‘विपत्को समयमा सस्तो मूल्यमा नै परीक्षण गरौँ भन्ने सोचका साथ काम गरेका हौँ,’ प्रयोगशाला प्रमुख भण्डारीले भने । यो प्रयोगशालामा पाँचवटा पिसिआर मेसिन र पाँचवटा अटोमेटिक आरएनए एक्स्ट्र्याक्सन मेसिन जडान गरिएको छ ।नयाँ पत्रिका दैनिकबाट

प्रकाशित : साउन १९, २०७७

प्रतिक्रिया दिनुहोस्