ओली-प्रचण्डबीच संवादहीनता टुटेपनि सहमति जुटेन : आज पनि छलफल



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा सत्ता संघर्ष विवाद समाधानको विधि र प्रक्रियामा उल्झन थपिँदै गएको छ । प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पाँच दिनदेखिको संवादहीनता टुटेपनि सहमति जुटेन ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली र प्रचण्डबीच करिब तीन घण्टा भएको छलफलमा विवादको समाधान पार्टीको कुन निकायबाट खोज्ने भन्नेमा मतभेद पैदा भएको छ ।

विवाद समाधानका लागि सचिवालय, स्थायी कमिटी र महाधिवेशनलाई विकल्पका रुपमा अगाडि सारिएको छ । सचिवालय बैठक बोलाउने या स्थायी समिति भन्नेमा पनि ओली दाहालका आआफ्नै मत थिए। ‘बैठक बस्ने विषयमा सहमति छ।

प्रधानमन्त्री ओलीको जोड सचिवालय बोलाउने भन्नेतिर छ। प्रचण्डले भने स्थायी समितिको बैठकमा छलफल गरी विवाद समाधान गर्नेपर्नेमा जोड छ । अविश्वास र असहमतिको गोलचक्करसँगै बहुमत–अल्पमतको शक्ति–परीक्षणमा केन्द्रित दुवै पक्षबीच सहमतिका लागि छलफल सविचालय बैठकबाट सुरु गर्ने कि स्थायी कमिटी बैठकमा जाने भन्नेमा विवाद जन्मेको हो ।

यति भइरहँदा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल भने सहमतिको विकल्प नभएको बताउछन् । तर, ओली र प्रचण्डबीच सहमतिभन्दा घचपेच बढी हुँदै आएको छ । स्रोतक अनुसार ओली र प्रचण्डबीच भएको आइतबारको वार्ता भनाभनबाट सुरु भएर भनाभनमै गएर सकिएको थियो ।

बैठकमा १३ साउनमा प्रचण्डको अध्यक्षतामा बालुवाटारमै बसेको बैठकलाई पार्टी बैठक भन्ने कि गुटको भेला भन्नेमा केहीबेर दुई अध्यक्षबीच भनाभन भएको थियो । १३ साउनको बैठकसँगै उनीहरु आफ्नो विगतको अडानबाट पनि टसमस नभएको अवस्था छ । प्रचण्डले स्वेच्छाले एउटा पदबाट राजीनामा दिन ओलीलाई आइतबार पनि आग्रह गरेका भने अहिले कुनै पद नछाड्ने ओलीको अडान थियो ।

बरु महाधिवेशन छिटो गरेर नेतृत्व सहज हस्तान्तरण गर्नै पुरानै कुरामा ओलीले अड्डी लिएका थिए । सोमबार विहान ओली र प्रचण्डबीच संवाद हुँदै छ । नेकपा नेता सुवास नेम्बाङले सोमबार (आज)को छलफलले एउटा निकास पहिल्याउने बताए ।

आइतारको छलफलमा ओलीले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाललाई पनि छलफलमा सहजीकरणका लागि साक्षी राखेका थिए ।

अब झिनामसिना कुरामा नलाग्ने, वार्ता र संवादबाटै सहमति खोज्ने उनको भनाइ छ । नेकपा विवाद उत्कर्षमा पुगेपछि १० असारदेखि सुरु स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित छ ।

ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद छाड्नैपर्ने प्रचण्ड–वरिष्ठ नेता माधव नेपाल समूहको माग यथावत छ । आइतबार ओलीसँग भएको छलफलबारे ओली इतर सचिवालयका सदस्यलाई व्रिफिङ गरेका थिए । बैठक राख्न पनि मान्नुभएन । पद छोड्न पनि मान्नुभएन,’प्रचण्डको भनाइ थियो ।

प्रकाशित : साउन १९, २०७७

प्रतिक्रिया दिनुहोस्