मेलम्ची पहिरो अपडेट : वेपत्ता ८ मध्ये ६ जनाको शव फेला



सिन्धुपाल्चोक : मेलम्ची नगरपालिका–११ मा पहिरोले पुरिएर वेपत्ता भएका ८ जनामध्ये ६ जनाको शव भेटिएको छ भने अन्य २ जना वेपत्ता छन् ।

प्रदेश सरकारद्वारा निर्माणाधीन कभर्ड हलको निर्माणमा खटिएका कामदारहरु पहिरोमा पुरिएका हुन् ।

सोमबार बिहान ३ः३० बजेतिर गैह्रीबजारको केही भाग भासिएर कभर्ड हल पुरिँदा वेपत्ता भएकामध्ये ६ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो जाँदा ८ जना वेपत्ता

पहिरोले भारत बेतीयाका ४२ राजेन्द्र चौरसीया, वीरगञ्जका ३५ वर्षीय प्रदिप चौरसीया, बारा सिमराका २१ वर्षीय राजेश चौधरी, २५ वर्षीय बिक्रम थिंग, २३ वर्षीय मानबहादुर रूम्बा, २० वर्षीय सिमन घ्लान, २१ वर्षीय शिबबालक धामी र १७ वर्षीय सोनम लामा सुतेका थिए । सँगै सुतेकामध्ये ६ जनाको शव भेटिए पनि को-को हो भन्ने पहिचान गर्न नसकिएको प्रहरीले जनाएको छ। 

७ जना नेपाली र एक भारतीय नागरिक गरी ८ जना पहिरोमा परि वेपत्ता भएका हुन् ।

पहिरोले कभर्ड हलको आधा भाग र मजजदुर बस्ने टहरो पूरै पुरेको पनि डीएसपी काफ्लेले जानकारी दिए ।

पहिरोमा परी घाइते भएका ३५ वर्षीय भारतीय नागरिक बारु साहलाई उद्धार गरी थप उपचारका लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र लगिएको उनले बताए । अहिले घटनास्थलमा सुरक्षाकर्मी र स्थानीय मिलेर वेपत्ताको खोजी गरिरहेका छन् ।

प्रकाशित : साउन १९, २०७७

प्रतिक्रिया दिनुहोस्