ज्वरो र खोकी लागेर बिरामी परेका वडा अध्यक्षको निधन



रौतहट : रौतहटको इशनाथ नगरपालिका वडा नम्बर ५ जटहराका वडाध्यक्ष ५५ वर्षीय देवेन्द्र ठाकुरको सोमबार बिहान निधन भएको छ । दुई सातादेखि ज्वरो, रुघाखोकी लागेर बिरामी परेका वडाध्यक्ष ठाकुरलाई श्वास फेर्न समस्या भएपछि उपचारको लागि सदरमुकाम गौरस्थित रौतहट नर्सिङ होम लैजादै गर्दा बाटोमै मृत्यु भएको रौतहट नर्सिङ होमका सञ्चालक डा. रामशंकर ठाकुरले बताए।

मृतक वडाध्यक्ष ठाकुरमा कोरोना संक्रमणको आशंका गरिएको छ। तीनदिन पहिले निजको आरडिटी परीक्षण गरिएको थियो। आरडिटीको रिपोर्ट भने नेगेटिभ थियो। आइतबार मध्यरातमा ठाकुरलाई सास फेर्न गाह्रो भएपछि परिवारजनले अस्पताल लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको हो । गौर अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेट तथा नर्सिङ होमका सञ्चालक डा. ठाकुर मृतक वडाअध्यक्षका जेठा दाजु हुन्।

मृतक वडाअध्यक्ष ठाकुरको शव जटहारा मै राखिएको छ। उनको पीसीआर परीक्षणको लागि जिल्ला जनस्वास्थ्य कार्यालयमा जानकारी गराइसकेको र उनको स्वाब संकलनपछि मात्रै अन्तिम संस्कार गरिने दाजु डा. ठाकुरले बताए ।

प्रतिक्रिया दिनुहोस्