दिल्ली जानुअघि सन्दीप भन्छन् : मेरो काँधमा धेरै जिम्मेवारी थपिएको छ 



काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न बुधबार भारतको नयाँ दिल्ली प्रस्थान गर्दै छन् । गत वर्ष दिल्ली डेयर डेभिल्समा आबद्ध भएका उनले यो सिजन पनि सोही क्लबमार्फत खेल्नेछन् । 

यसपल्टको आइपिएलमा नाम फेरिएको दिल्ली क्यापिटल्सका लागि उनको भूमिका महत्त्वपूर्ण हुनेछ । अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटको ठूलो अनुभव बटुलिसकेका उनलाई दिल्लीले टिमका मुख्य प्रभावशाली खेलाडीका रूपमा मैदानमा उतार्ने अनुमान गरिएको छ । 

दिल्ली जानु एक दिन अघि उनले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गरेका छन् । ‘गएको वर्ष आइपिएलमा खेल्ने बेलादेखि धेरै नै उत्साहित थिएँ । त्यो बेला अन्तिममा पाएको तीन खेलमा आफूलाई प्रमाणित गर्न सकेँ’ उनले भने, ‘हरेक पटक मनदेखि उत्साहित हुन्छु । फेरि पनि मैले आफूलाई प्रमाणित गर्न पाएँ भने सुनमा सुगन्ध नै हुन्छ ।’

बिग व्यास लिगमा मेलबर्न स्टार्सलाई फाइनलमा पु¥याएका सन्दीपले यस पटक आइपिएलमा आफ्नो टोलीलाई पनि फाइनलसम्म पु¥याउने आस रहेको बताउँछन् । 

‘मलाई पूरा विश्वास छ, यसपल्ट मैले धेरै भन्दा धेरै मौका पाउने छु,’ उनले भने, ‘म निकै उत्साहित छु । मलाई लाग्छ, यसपल्ट मेरो काँधमा धेरै जिम्मेवारी थपिएको छ ।’ यो सिजनमा आफूमाथि राम्रो प्रदर्शन गर्ने चुनौती रहेको उनले सुनाए । 

गत वर्ष उनले दिल्लीका लागि तीन खेल मात्र खेल्न पाएका थिए । यद्यपि उनले तीन खेलेका तीन खेलमा आफूलाई उत्कृष्ट साबित गरे । सन्दीपले त्यति बेला कम मौका पाए पनि उनको प्रदर्शनको चौतर्फी प्रशंसा भएको थियो । 

यस सिजनको आइपिएल मार्च २३ बाट सुरु हुँदैछ । 

 

प्रतिक्रिया दिनुहोस्