ओली–प्रचण्ड वार्ता, आज पनि जुटेन सहमति



काठमाडौं : नेकपाभित्र उत्पन्न संकट समाधान गर्न बसेको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता बिना सहमति सकिएको छ ।

केही दिन स्थगित भइ आइतबार सुरु भएको अध्यक्षद्वयबीचको संवाद सोमबार पनि बिना सहमति सम्पन्न भएको हो ।‘बैठकको शुरुमा जनैपूर्णिमाको शुभकामना साटासाट भयो । त्यसपछि विषयवस्तुमा प्रवेश भए पनि कुनै सहमति हुन सकेन’ वार्तामा सहभागी एक नेताले भने, ‘वार्ताको निरन्तरता मात्रै भयो । अरु केही प्रगति भएन ।’

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहान सवा ९ बजेबाट शुरु भएको वार्तामा दुवै नेता बाहेक झलनाथ खनाल र सुवास नेम्वाङ सहभागी थिए । खनाल प्रचण्ड र नेम्वाङ ओलीका तर्फबाट वार्तामा सहभागी भएका हुन् ।

वार्तामा अध्यक्ष प्रचण्डले स्थगित स्थायी समिति बैठकको तत्काल मिति तोक्न र समस्या समाधान गर्न ओलीलाई आग्रह गरेका थिए । तर, ओलीले पहिला सचिवालयमा सहमति गरेर मात्रै स्थायी समिति बैठक बोलाउनुपर्ने अडान दोहोराएका थिए ।

‘सचिवालयमा घनिभूत छलफल गरौँ । त्यसपछि मात्रै स्थायी समिति बैठक बोलाऔं’, ओलीको जवाफ थियो । बैठक बोलाउने र नबोलाउने दुवै पक्षले अडान नछाडेपछि पुनः मङगलबार छलफल गर्ने गरी नेताहरु उठेका थिए । अध्यक्षद्वयबीच करिब डेढ घण्टा संवाद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्