मेलम्ची पहिरो : वेपत्ता ८ जनाकै शव फेला



सिन्धुपाल्चोक : मेलम्ची नगरपालिका–११ मा पहिराले पुरिएर वेपत्ता भएका ८ जनाकै शव फेला परेको छ ।

सोमबार बिहान ३ः३० बजेतिर गैह्रीबजारको केही भाग भासिएर कभर्ड हल पुरिँदा वेपत्ता भएकाको शव भेटिएपछि पहिचान हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।

मेलम्चीको कभर्ड हल निर्माण कार्यमा खटिएका मजदुर बसेको घरमा खसेको पहिरोले पर्दा ८ जना वेपत्ता भएका थिए । पहिरोले परिएका भारत बेतीया घर भएका बारु साहलाई सुरक्षाकर्मीको टोलीले जीवित उद्धार गरेका थिए । साहको प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा उपचार भइरहेको छ ।

पहिरोले भारत बेतीयाका ४२ वर्षीय राजेन्द्र चौरसीया, वीरगञ्जका श्३५ वर्षीय प्रदिप चौरसीया, बारा सिमराका २१ वर्षीय राजेश चौधरी, २५ वर्षीय विक्रम थिङ्ग, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घ्लान, २१ वर्षीय शिबबालक धामी र १७ वर्षीय सोनम लामा सुतेका थिए ।

यसैतरी सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवामा पहिरोले पुरिँदा श्रीमान–श्रीमतीको मृत्यु भएको छ । घरमा सुतिरहेको अवस्थामा पहिरोले पुरिँदा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ५० वर्षीय यज्ञबहादुर कस्तरी र उनकी ४८ वषीया श्रीमती लक्ष्मी शिलवालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : साउन १९, २०७७

प्रतिक्रिया दिनुहोस्