प्रदेश १ का मुख्य न्यायाधिवक्ता आचार्यलाई कोरोना



विराटनगर : प्रदेश १ का मुख्य न्यायाधिवक्ता चूडामणि आचार्यलाई कोरोना संक्रमण देखिएको छ । विराटनगर महानगरपालिका वडा नम्बर ५ का स्थायी बासिन्दा मुख्य न्यायाधिवक्ता आचार्यसहित उनका तीनजना पारिवारिक सदस्यलाई कोरोना पोजेटिभ देखिएको छ ।
विराटनगरमै रहिरहेका आचार्यलाई कहाँबाट कोरोना संक्रमण भयो यकीन खुलेको छैन ।

केही दिनअघि मुख्य न्यायाधिवक्ता आचार्यलाई सामान्य ज्वरो आएको थियो । त्यसपछि आइतबार कोरोना परीक्षण गर्दा परिवारका तीन सदस्यको रिपोर्ट पोजेटिभ आएको हो । कोरोना देखिएपछि उनीसहित तीनैजनालाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजान लागिएको छ ।

केही दिनअघि सामान्य ज्वरो आएको र सिटामोल खाएपछि निको भएको बताउँदै आचार्यले आफू घरमै क्वारेन्टाइन बसेको बताए । तर संक्रमण कहाँबाट कसरी स¥यो यकीन नभएको र हाल अवस्था सामान्य नै रहेको उनले जानकारी दिए । मुख्य न्यायाधिवक्ताको कार्यालयमा उनी नियमितरुपमा जाने र बैठकमा सहभागी हुने गरेका थिए । सुरक्षाकर्मीबाट कोरोना सरेको हुनसक्ने अनुमान गरिएको छ । मुख्य न्यायाधिवक्तालाई कोरोना देखिएपछि प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री तथा उच्च अधिकारीहरुले सतर्कता अपनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्