चैत २१ देखि भक्तपुर सल्लाघारीमा औद्योगिक मेला



काठमाडौं : भक्तपुरमा नयाँ वर्ष २०७६ को उपलक्ष्यमा औद्योगिक मेला आयोजना हुने भएको छ। औद्योगिक शान्ति नेपाल र मध्यपुर ब्वाइज ब्यान्डको संयुक्त आयोजनामा ‘पाँचौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला’ हुन लागेको हो।

आयोजकले मंगलबार पाँचौं भक्तपुर औद्योगिक मेला चैत २१ देखि वैशाख २ सम्म हुने जानकारी दिएका छन्। मेलाले उपभोक्तालाई एकै थलोमा सबै खालका वस्तु उपलब्ध गराउने आयोजकले बताएका छन्। 

आयोजकका अनुसार सामानमा २५ देखि ५० प्रतिशत छुट दिइनेछ। मेला भक्तपुर सल्लाघारीको ९९ रोपनी जमिनमा लाग्नेछ। उक्त जग्गा नेपाल ट्रस्टको हो। मेलामा दुई सयभन्दा बढी कक्ष रहने छन्। 

मेलामा दैनिक जीवनमा प्रयोग गर्ने सामग्री, लत्ताकपडा, जुत्ता, कृषि र हस्तकलाका सामग्री, भाँडाकुँडा र पर्यटन प्रवद्र्धन कक्ष रहने जानकारी पनि आयोजकले दिएका छन्। मेलामा खुला भलिबल प्रतियोगिताका साथै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुनेछ। 

प्रतिक्रिया दिनुहोस्