फेवातालको झल्को मेटाउने म्याग्दीको दहताल



म्याग्दी : पोखरामा रहेको फेवातालकै आकार र बनोट रहेको दहताल त्यहाँ पुग्ने पर्यटकहरूका लागि निकै आकर्षक स्थल बन्दै गएको छ। मंगला गाउँपालिका वडा नं ३ बरंजामा रहेको सो तालको नामबाट नै गाउँलाई समेत ‘दह गाउँ’ नामकरण गरिएको छ।

गाउँ र प्रकृतिको विम्ब (छाया) देखिने ताल निकै आकर्षक र मनमोहक भए पनि प्रचारप्रसारका साथै आवश्यक भौतिक पूर्वाधारको अभावले ओझेलमा परेको ताल संरक्षण समितिका अध्यक्ष कुलबहादुर थापाले बताए। 

तालको बीचमा अवस्थित बराह मन्दिर यहाँको विशेष आकर्षण हो। यो मन्दिरलाई पोखराको फेवातालमा रहेको बराह देवताको भाइको रूपमा समेत चिनिन्छ। ताल र बराह मन्दिरको दर्शन तथा पूजाआजा गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ।

कृषकहरूले बाली लगाउने समयमा पानी नपर्दा सो मन्दिरमा पूजा गरे पानी पर्ने जनविश्वास छ। प्रत्येक वर्षको बालाचतुर्दशीका दिन तालमा भक्तजनको निकै ठूलो भीड लाग्ने गर्दछ। 

तालका बारेमा जानकारी पाएपछि घुम्न आएका बेनीका नरेश श्रेष्ठ प्राकृतिक दृश्य हेरेर निकै उत्साहित देखिन्थे। भौतिक पूर्वाधार निर्माण गरी जिल्ला र राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सके गाउँको पुछारमा अवस्थित यो ताल धार्मिक पर्यटकीय स्थल बन्न सक्ने उनी बताउँछन्। 

यो ठाउँलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न वडाले ताल नजिक सडक जोडेपछि पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढेको छ। यद्यपि, सो क्षेत्रमा पार्किङलगायत अन्य भौतिक संरचना बन्न सकेको छैन।

तालको संरक्षणका लागि अहिले स्थानीयको पहलमा तार बार भइरहेको छ। स्थानीयले तालको गोलाई पुरानो स्थितिमा ल्याउने, व्यावसायिक माछा पालन सुरु गर्ने, ताल वरिपरि पार्क निर्माण गर्ने, आन्तरिक तथा बाह्य पर्यटक लक्षित डुङ्गा चलाउनेलगायत योजना बनाएपनि बजेट अभावले समयमा काम हुन नसकेको स्थानीय कुलबहादुर थापाले बताए। 

लामो खडेरी पर्दासमेत पानी नसुक्ने दहतालको उचित प्रचारप्रसार र स्थानीय सरकारले आवश्यक बजेट विनियोजन गरेर पूर्वाधार निर्माणमा ध्यान दिने हो भने यसलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सकिन्छ भने स्थानीयलाई रोजगारको आधार पनि सिर्जना हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्