भन्सालिको ड्रिम प्रोजेक्टमा सलमान र आलिया



एजेन्सी : ‘हम दिल दे चुके सनम’ को २० वर्षपछि निर्देशक सञ्जय लीला भन्साली र बलिउड सुपरस्टार सलमान खानबीच टिमअप भएको छ । भन्सालिले यो उसको ड्रिम प्रोजेक्ट भएको बताइएका छन् । 

केही दिनदेखि फिल्मको नाम र नायिकालाई लिएर कयौँ चर्चा चलिरहेको थियो । अब आधिकारिक रूपमा भन्सालीले सलमानको अपोजिटमा अभिनेत्री आलिया भट्टलाई ‘कन्फर्म’ गरेका छन् । 

सलमान र आलियाले पहिलो पटक फिल्ममा सँगै आउने जानकारी ट्विटरमार्फत दिएका छन् । निर्देशक सञ्जय लीला भन्सालीसँग पनि आलियाले पहिलो पटक काम गर्न लागेकी हुन् । आलियाले भन्सालीसँग काम गर्न निकै उत्साहित रहेको बताएकी छन् । 

उनले लेखेकी छिन्, ‘उहाँले मलाई भन्नुभएको थियो ‘खुल्ला आँखाले सपना देख र मैले गरेँ । ‘इन्शाअल्लाह’ को यो सुन्दर यात्रामा उहाँहरूको साथमा जोडिन मलाई निकै प्रतीक्षा छ ।’ 

दोस्रो ट्विटमा उनले लेखेकी छिन्, ‘म ९ वर्षको थिएँ जब म पहिलो पटक सञ्जय लीला भन्सालीको अफिस गएको थिएँ । निकै नर्भस थिएँ । उहाँसँग काम गर्न मैले प्रार्थना गरेको थिएँ । र, लामो प्रतीक्षा गरेको थिएँ ।’ 

फिल्मको टाइटल पनि घोषणा गरिएको छ । फिल्मको नाम ‘इन्शाअल्लाह’ जुराइएको छ । लामो समयपछि सलमान र भन्सालीको टिमअप र पहिलो पटक सलमान र आलियाले सँगै काम गर्ने भएपछि निर्माण नहुँदै ‘इन्शाअल्लाह’ दर्शकमाझ प्रतीक्षित फिल्म बनेको छ ।

प्रतिक्रिया दिनुहोस्