विकासको जग हाल्ने वर्ष : महासेठ



काठमाडौं : सरकारले यातायात क्षेत्रका समस्यासम्बन्धी गुनासा सुन्ने व्यवस्था गरेको जनाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गरी २०७५ असारदेखि गुनासा र उद्धारका लागि २४ सै घण्टा सेवा सुरु गरेको जानकारी दिएको छ ।

चैत २ गते मन्त्रीको सपथ लिएको एक वर्ष पुगेको अवसरमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले एक वर्षभित्र आफूले गरेका कामको विवरण सार्वजनिक गर्दै काठमाडौं उपत्यकाभित्र यातायातसम्बन्धी गुनासा व्यवस्थापन गर्न गुनासा सुन्ने र उद्धारको व्यवस्था गरेको जानकारी दिए । 

उनले  काठमाडौं उपत्यकाभित्र सञ्चालित मिटर ट्याक्सी र महिला, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलाई आरक्षित सिटको व्यवस्था भएकाले कुनै गुनासा वा उजुरी भए ९८५१२७३२२२ मा फोन वा म्यासेज गर्न सकिने जानकारी उनले दिए । सर्वसाधारणले २४सै घण्टा सेवा लिन सक्ने बताए । 

मन्त्री भएलगत्तै काठमाडौं उपत्यका र सबै महानगरपालिका, उपमहानगरपालिकामा प्रदूषण जाँचपास नभएका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाएको  बताए । यसका लागि सरकारले ४ लाख थान प्रदूषण स्टिकर र ४० वटा प्रदूषण जाँच मेसिन उपलब्ध गराइएको मन्त्री महासेठले बताए । उनले सिन्डिकेटको अन्त्य भइसकेको समेत दाबी गरे ।

सञ्चारकर्मीले राखेको प्रश्नको जवाफमा मन्त्री महासेठले यातायात क्षेत्रमा सिन्डिकेट नभएको जिकिर गरे । देशभरिबाटै सरकारले सबै समिति हटाइसकेकाले यस विषयमा भ्रममा नपर्न आग्रह गरे । उनले आफ्नो एकबर्से कार्यकाल सफल भएको बताए ।

यो एक वर्ष सरकारले विकासको जग हाल्ने वर्ष भएकाले ४ वर्षमा आफूले गरेका सबै प्रतिबद्धता पूरा गर्ने बताए । मन्त्रालयले यो वर्ष रेल, पानीजहाजसहित यातायात क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल गरेको उनको भनाइ थियो । यो वर्ष जग हालेका सबै आयोजना समयमै सम्पन्न गर्न विशेष योजना ल्याएको पनि उनले बताए । 

प्रतिक्रिया दिनुहोस्