अवहेलना मुद्दाका ५ जनालाई जरिवानाको फैसला 



विराटनगर : अदालतको अवेहलना मुद्दामा c ५ जनालाई जरिवानाको फैसला सुनाएको छ। जिल्ला अदालत मोरङका न्यायाधीश कृष्णमुरारी शिवकोटीको इजलासले कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौंका प्रमुख भुवनहरि अर्यालसहितलाई जरिवानाको फैसला सुनाएको हो।

अदालतका सूचना अधिकारी युवराज पौडेलले कम्पनी रजिष्ट्रारका प्रमुख अर्यालय, कार्यालयका शाखा अधिकृत कृष्णप्रसाद पौडेल, कार्यालयका कानुन अधिकृत टोपबहादुर विष्ट र झापा गौरादह नगरपालिका–६ का शंकरप्रसाद संग्रौला एवं सुरेश भण्डारीलाई जरिवानाको फैसला सुनाइएको जानकारी दिए। उनका अनुसार करणसिंह बस्नेत वादी र संग्रौला प्रतिवादी रहेको लेनदेन मुद्दामा पाँचै जनाविरुद्ध जनही पाँच हजार रुपैयाँका दरले अदालतले जरिवाना गरेको हो।

मोरङको सुन्दरहरैंचा–१० का बस्नेत वादी रहेको लेनदेन मुद्दामा शंकरप्रसाद संग्रौलाको नाममा दर्ता रहेको कञ्चन जंघा फार्म हाउसको शेयर रोक्का राख्न गत असोज १० गते आदेश दिएर अदालतले रोक्का राख्नका लागि कम्पनी रजिष्ट्रारको कार्यालयमा पत्रचार गरेको थियो। कार्यालयका प्रमुखसहितको मिलेमतोमा आदेश विपरित उक्त शेयर प्रतिवादी सुरेश भण्डारीको नाममा असोज १४ गते दाखिल खारेज (हस्तान्तरण) गरेको देखिएपछि अदालतले अवहेलना मुद्दामा जरिवानाको फैसला सुनाएको पौडेलले बताए।

शेयर किनबेच गरेर नेपालको संविधानको धारा १२६ (२) मा उल्लेख भएको मुद्दा मामिलाको रोहमा अदालतले दिएको आदेश वा निर्णय सबैले पालना गर्नुपर्ने संवैधानिक व्यवस्थाको उलंघन गरेको ठहर अदालतको छ। अदालतको आदेशपछि प्रतिवादी शंकारप्रसाद संग्रौला र सुरेश भण्डारीबीच शेयर खरिद बिक्री गर्ने निर्णय गत साउन १ गते भएको भनेर त्यही हिसावको कागजपत्र मिलाउने प्रयास भएको थियो। 

प्रतिक्रिया दिनुहोस्