प्रदेश २ को मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण



जनकपुरधाम : प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ ।

यससँगै धनुषामा आज (सोमबार) ३० जनामा कोरोना संक्रमण देखिएको हो । जनकपुरधामस्थित प्रादेशिक प्रयोगशालामा स्वाब संकलन गरि पीसीआर परिक्षण गर्दा मुख्यमन्त्री कार्यालयका एक जना अधिकृत, एक जना ट्राफिक प्रहरी, २ जना सवारी चालक र कार्यालयकै अन्य २ जना कर्मचारी गरी ६ जनासहित धनुषा जिल्लाभरिमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिएका छन् ।

दुई दिन अगाडी गरिएको स्वाब संकलनको नतिजा आइतबार राति आएपछि उनीहरुमा संक्रमण पुष्टि भएको बताईएको छ । मुख्यमन्त्री कार्यालयका संक्रमित कर्मचारीहरु चिकित्सकको सल्लाहमा आ-आफ्नो घरमै सेल्फ क्वारेन्टाईनमा बसिरहेका छन् । यता संक्रमितहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको आधार पत्ता लगाउने काम भईरहेको प्रजिअ भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्