लहानमा राउतको नागरिक अभिन्दन, सहभागिता न्यून  



जनकपुरधाम : विखण्डनकारी एजेण्डा त्यागेर राजनीतिक मूलधारमा आएका नवगठित जनमत पार्टीका नेतृत्वकर्ता सीके राउतलाई सिरहाको लहानमा नागरिक अभिनन्दन गरिएको छ। मंगलबार बिहान ठूलो राजनीतिक सफलता हासिल भएको भन्दै लहानमा जनमत पार्टीका नेता कार्यकर्ताहरूले राउतलाई फूलमाला लगाई नागरिक अभिन्नदन गरेका हुन्।

अभिन्दनको क्रममा जनमत दो अजादी लो भन्ने नारा लगाइएको थियो। फ्रि मधेश नारा लगाएको बेलामा जुन क्रेज राउतको देखिएको थियो, त्यो क्रेज नागरिक अभिनन्दनमा देखिएन्। नागरिक अभिनन्दन कार्यक्रममा कार्यकर्ता बाहेक स्थानीयको सहभागिता न्यून देखिएको थियो। राउतको अभिनन्दन पश्चात जनमत पार्टीले सिरहाका विभिन्न स्थानमा विजय जुलुस सहितको शक्ति प्रदर्शन गरेको थियो।

शक्ति प्रदर्शनमा फ्रि मधेशको नारा नगुञ्जिए पनि झण्डा भने फ्रि मधेशकै प्रयोग गरिएको थियो। लहानबाट बिहान साढे ११ बजे सुरु भएको विजय जुलुस सप्तरीको रुपनी, राजविराज, हनुमाननगर, जोगियाना हुँदै साढे ३ बजे भारदहस्थित कंकालिनी मन्दिर पुगेर सम्पन्न भएको थियो।

सरकारसंगको ११ बुदे सहमतिपछि तात्कालीन स्वतन्त्र मधेश गठबन्धनले लहानमा सम्पन्न गरेको दुई दिने राष्ट्रिय परिषदको बैठकबाट राउतको संयोजकत्वमा ३५ सदस्यीय जनमत पार्टीको तदर्थ समिति गठन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्