होलीको रंगमा रंगिए प्रदेश २ का मुख्यमन्त्री



जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत होलीको रंग अबिरमा रंगिएका छन् । हिन्दु धर्मावलम्बीले मनाउने होली पर्वको अवसरमा जनकपुरधाम स्थित मिथिला नाट्यकला परिषद् (मिनाप)ले आयोजना गरेको होली महोत्सव र महामूर्ख सम्मेलनमा मुस्लिम समुदायका मुख्मन्त्री राउतले एक अर्कालाई अबिर लगाएर होली खेलेका हुन् । 

कार्यक्रममा मुख्यमन्त्री राउतले सम्बोधन गर्दै होली पर्व कुनै विशेष जात धर्म समुदायको नभई सबैका पर्व रहेको र यस पर्वले समाजमा भाइचारा, एकता र सद्भाव कायम राख्न मद्दत गर्ने बताए । 

उनले होली पर्वले खुसी र सद्भाव बाँड्ने भएकोले कुनै जात धर्ममा विशेषमा नलागी आपसी सद्भाव कायम गर्ने गरी शान्तिपूर्ण रूपमा मनाउन आग्रहसमेत गरे ।

जनकपुरधामको जानकी मन्दिरमा आयोजित महोत्सव दुई दिनसम्म मनाइने छ । 

महोत्सवको दोस्रो दिन बुधवार महामुर्ख सम्मेलन आयोजना गरिनेछ । महामुर्ख सम्मेलन मार्फत समाजका विशिष्ट व्यक्तिहरूलाई महामुर्ख, पटमुर्ख, मुर्खाधिराज लगायतका पदवी दिइनेछ । 

हराउँदै गएको पारम्परिक होरैया (होली गीत) को जगेर्ना र संरक्षणका लागि प्रत्येक वर्ष मिनापले होली महोत्सव र महामुर्ख सम्मेलन आयोजना गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्