राजा फर्काउने कसरत गर्दैछन् कांग्रेस र कम्युनिस्ट : मन्त्री यादव



लहान  : प्रदेश-२ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले नेपाली कांग्रेस र कम्युनिस्टका केही नेता फेरी राजा फर्काउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । सिरहाको औरही गाउँपालिकामा आइतबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । 

 

संघीयता समाप्त पारेर राजा फर्काउने चलखेल सुरु भएको तर उनीहरुको चलखेल सफल नहुने मन्त्री यादवले दाबी गरे । उनले भने,‘संघीयता साधारण बलिदानले आएको छैन।त्यसैले समाप्त हुँदैन तर जनता सचेत हुनुपर्छ।’

 

उनले संघीय सरकारले ७० प्रतिशत बजेट आफैंसँग राखेको र ३० प्रतिशत मात्र ७ वटा प्रदेशलाई दिएकोमा आपत्ति जनाए । ७० प्रतिशत बजेट सात प्रदेशलाई दिनुपर्ने र ३० प्रतिशत बजेटले केन्द्र चलाउनु पर्ने उनले तर्क गरे। संघीयतालाई असफल पार्न नै बजेट पनि संघीय सरकारले आफैंसँग राखेको मन्त्री यादवले आरोप लगाए ।

 

उनले प्रदेश(२ का ९९ प्रतिशत जनता कृषिमा आधारित भएकोले उत्पादन बढाउने खालको योजना ल्याएर समृद्ध प्रदेश बनाउने दाबी गरे। उनले औरही गाउँपालिकालाई सिरहाको केन्द्र बनाउने पनि प्रतिवद्धता जनाए।

प्रतिक्रिया दिनुहोस्